`

कोरियामा जस्तै मासिक दुई लाख बचत गर्न सक्ने गरी रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा

Nepal One HD २१ भदौ २०८२ १४:४९
नेपाली कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आज नेपालका केटाकेटीहरूलाई देशभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्ने सपना देख्नु पर्ने बताएका छन् । महामन्त्री थापाले आजको नेपाली कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताए ।

शनिबार काठमाडौँमा आयोजित ‘बीपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेपालबाट धेरै युवा रोजगारीको लागि विदेश जाने गरेकाले त्यसलाई रोक्न नेपालमा नै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले कांग्रेसका लागि सरकारमा टिक्नु र सरकारमा रहने नरहने भनेको गौण कुरा मात्रै हुनुपर्ने बताए । उनले भने, ‘आजको कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपाल भित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु । यसका निम्ति जे पनि गर्छु, मेरो लागि मुख्य कुरा यो हो अहिले कांग्रेस लागि सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन् ।’

देशमा थुप्रै कुराहरू बदलिएको भन्दै मान्छेहरूको आकांक्षा पनि बढेको बताए । उनले भने, ‘म अस्ती कोरिया गएर आएँ, कोरियामा एउटा केटोले महिनाको बचत दुई लाख छ कमाई अडाई लाख छ मेरो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नपर्छ, मैले त्यो दुई लाख दिने, एक लाख दिने तलब दिएर कति जना रोजगारी सिर्जना हुन्छ, देशमा अहिले । ४०-५० हजार मान्छे भन्दा बढीले गुणस्तरको काम पाएको अवस्था छैन ।’

उनले देशमा अहिले लाखौँ मान्छेलाई रोजगारी सिर्जना गर्नुपर्ने अवस्था रहेको बताए । बीपी कोइरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको उल्लेख गर्दै उनले आजको कांग्रेसले युवालाई देशभित्रै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताए । थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताए । त्यस्तै थापाले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए ।

‘कांग्रेस स्थापनाकाल देखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जसले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ,’ उनले भने, ‘कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ । कांग्रेस सरकारमा रहनु नहरनु ठूलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्किनु पर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *