सामाजिक सञ्जाल निस्क्रिय हुँदा सरकारी निकायकै सेवा प्रभावित
काठमाडौं । सूचिकृत नभएका २६ सामाजिक सञ्जाल सरकारले निस्क्रिय बनाउँदा सरकारी निकायकै सेवा प्रवाहमा समस्या सिर्जना भएको छ। सामाजिक सञ्जाल निस्क्रिय भएपछि सरकारी कार्यालयकै कतिपय कामहरु प्रभावित भएको कर्मचारीहरु बताउँछन् ।
धेरैजसो सरकारी कार्यालयहरुले आम नागरिकसम्म जानकारी पुर्याउन र प्रतिक्रिया तथा गुनासो लिनका लागि आधिकारिक रूपमा फेसबुक, ह्वाट्सएप, ट्विीटर, यूट्यूव, म्यासेन्जरलगायतका सामाजिक सञ्जाल प्रयोग गर्दै आएका थिए ।
सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउँदा अहिले ती सेवाहरु प्रभावित भएका छन् । संघीय संसदसहित प्रदेश सभाका बैठकहरु यूट्यूवमार्फत प्रत्यक्ष प्रशारण –लाइभ) हुँदै आएका थिए । यूट्यूव बन्द भएकाले अब संसदका बैठकको प्रत्यक्ष प्रशारणमा समस्या हुने देखिएको छ ।
सभामुख देवराज घिमिरेले बिकल्प खोजिरहेको बताएका छन् । उनले एआइको प्रयोगबारे परामर्श भइरहेको बताएका छन् । तर लामो भिडियोको प्रत्यक्ष प्रशारणका लागि यूट्यूवको विकल्प भेट्न मुस्किल रहेको जानकार बताउँछन् ।
प्रधानमन्त्री कार्यालयबाटै सञ्चालित ‘हेलो सरकार’ ले फेसबुक, ट्विटर, ह्वाट्स्यापसहितका सामाजिक सञ्जालबाट नागरिकको गुनासो सुन्ने र उजुरी लिने गरिरहेको थियो । तर अहिले कार्यालयको फेसबुक र ट्विटर दुई दिनदेखि निस्क्रिय छन् ।
यस्तै स्वास्थ्य मन्त्रालयले फेसबुकमार्फत स्वास्थ्यसम्बन्धी जानकारीहरु दिने गरेको थियो । मौसम पूर्वानुमानसम्बन्धी जानकारीहरु फेसबुकमार्फत प्रभावकारी रूपमा नागरिक समक्ष पुगिरहेका थिए । प्रहरी कार्यालयका जानकारी दिन पनि फेसबुक तथा ट्वीटर सक्रिय थिए ।
याताायत कार्यालयले चालक अनुमती पत्रको परिक्षा मितिदेखि नतिजा समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको थियो । यी सबै किसिमका कार्यालयका सेवाहरु अहिले प्रभावित भएका छन् । जसका कारण नागरिक सूचनाबाट समेत बञ्चित हुन पुगेका छन् ।
