कृषिमन्त्री अधिकारीले दिए राजीनामा, कांग्रेसका अरु पनि परामर्शमा


काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि अधिकारीले पदबाट राजीनामा दिएको उनका सहयोगी बिजय अधिकारीले पुष्टि गरेका छन् । नेपाली कांग्रेसभित्र सरकारबाट बाहिरिन दबाब बढेको छ ।
नेता शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य सकिएको भन्दै कांग्रेसले सरकार छाड्नु पर्ने मत राखेका छन् । यसै गरी कांग्रेसबाट कृषि मन्त्री भएका रामनाथ अधिकारीले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
‘कर्फ्यू छ बाहिर निसक्न सकेको छैन’, उनले भने, ‘प्रधानमन्त्री र पार्टी सभापतिलाई उहाँले जानकारी दिइसक्नु भयो ।’ नेता शेखर कोइरालाले चीनबाटै राजीनामा दिन लगाएपपछि उनी निकट मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएका थिए ।
कांग्रेसका अरू मन्त्रीहरू पनि राजीनामाका लागि पार्टीसँग परामर्शमा छन् । एक साता लामो भ्रमणका चीनमा रहेका नेता कोइराला देशको वर्तमान असहज परिस्थितिका कारण बसाई छोट्याएर भोलि (बुधबार) नै नेपाल फर्कदै छन् । हिजो जेनजीको आन्दोलनमा प्रहरी दमन हुँदा १९ जनाको ज्यान गएको थियो । भने साढे तीन सय बढी घाइते भएका छन् ।