सुर्खेतमा पुनः कर्फ्यु ,वीरेन्द्रनगमा उच्च सुरक्षाका लागि सेना परिचालन


कर्णाली, २६ भदौः सुर्खेत पुनः कर्फ्यू लागेको छ । जिल्ला प्रशासनले आज बेलुका ७ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।
पछिल्लो विकसित घटना क्रमलाई मध्यनजर गरी कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिनुभयो । कर्फ्यु जारी भएपछि वीरेन्द्रनगर बजारमा उच्च सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन समेत) को दफा ६ (क) बमोजिम सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाको रत्नराजमार्ग अन्तरगत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमल र यसको उत्तर–दक्षिण तीन सय मिटरमा आवतजावतमा रोक लगाइएको छ । यस क्षेत्रमा आवतजावत गर्न, कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक नगर्न निर्देशन दिईएको छ ।
प्रशासनले आज बिहान ८ः३० बजेदेखि साँझ ६ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । जारी निषेधाज्ञा उलंघन गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत घण्टाघर चोकस्थित डी–नमस्ते होटलबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले छ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का ३३ वर्षीय बद्री बोहोरा, वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका ३१ वर्षीय मोहन थापा, कालिकोट पचालझरना गाउँपालिका–३ का १८ वर्षीय महेश कठायत र १८ वर्षीय मिलन बस्नेत, तिलागुफा नगरपालिका–१ का २४ वर्षीय प्रेम बुढा र शुभकालिका गाउँपालिका–३ का २६ वर्षीय पुष्पराज शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।