संकट समाधानका लागि संवैधानिक बाटो रोज्नु पर्छ : सुनिल शर्मा


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद सुनिलकुमार शर्माले तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठन गर्न संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने सुझाव दिएका छन् । सांसद शर्माले राजनैतिक अन्योलताका बीच मुलुकलाई संवैधानिक बाटोबाटै निकास दिनुपर्नेमा जोड दिएका छन् ।
उनले आन्दोलनरत युवा समूह, सबै राजनीतिक दल, नागरिक समाज र संवैधानिक विज्ञहरूको सहभागितामा संविधान संशोधनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गरेका छन् । स्वच्छ छविका व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने, ६ महिनादेखि एक वर्षभित्र आम निर्वाचन र निर्वाचनसँगै संविधानिक राजतन्त्र र धर्मका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने जनाए छन् ।
शक्ति सन्तुलन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने, एक व्यक्तिले दुई पटकभन्दा बढी राष्ट्रपति र प्रधानमन्त्रीमन्त्री हुन नपाउने व्यवस्था गर्ने, न्यायालय सुधार विगतमा भएका राजनीतिक नियुक्तिका आधारमा पद पाएका न्यायाधीशलाई पदमुक्त गरी स्वतन्त्र निकायमार्फत न्यायाधीश नियुक्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
भ्रष्टाचार छानबिन र उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरी २०४६ सालपछि भएका सबै उच्च ओहोदाधारीको सम्पत्ति छानबिन गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, राजनीतिक दल सुधार राजनीतिक दलको पदाधिकारीहरूको कार्यकाल ४ वर्षमा सीमित गर्ने, अनिवार्य महाधिवेशन नगरेमा दलको दर्ता स्वतः खारेज गर्नुपर्ने जनाएका छन् ।