`

जितिया पर्वका लागि सिरहामा दैनिक तीन घण्टा निषेधाज्ञा खुकुलो

Nepal One HD २७ भदौ २०८२ १८:३३
समाज

सिरहा, २७ भदौ : जितिया पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय सिरहाले विशेष व्यवस्था स्वरूप आगामी शनिबारसम्म हरेक दिन तीन घण्टाका लागि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, नागरिकको सुरक्षा र जनजीवनलाई सहज बनाउन सात घण्टा निषेधाज्ञा जारी गरिएको भए पनि पर्वको तयारीका लागि दिउँसो ३ बजेदेखि ६ बजेसम्म स्थानीय हाटबजार तथा पसल सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।

इलाका प्रशासन कार्यालय लहानका शाखा अधिकृत सन्तोष रायले लहान क्षेत्रमा लाग्ने साप्ताहिक हटिया र पसल यही समयमा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई आवश्यक सामग्री किनमेल गर्दा अनावश्यक भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गर्दै तुरुन्त घर फर्किन अनुरोध गरिन्छ । अन्यथा कुनै अवाञ्छित गतिविधि वा लुटपाट भएमा सुरक्षाकर्मीले आवश्यक कारबाही गर्नेछन् ।”

प्राचीन कालदेखि मिथिला क्षेत्रमा असोज कृष्णपक्ष सुरु भएसँगै जितिया पर्वको तयारी सुरु हुन्छ । विशेषगरी महिलाले सन्तानको दीर्घायु र सुस्वास्थ्यका लागि २४ घण्टासम्म पानीसमेत नखाई कठोर व्रत बस्ने यो पर्वलाई पौराणिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । आगामी आइतबार जितिया पर्व मनाइँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *