कृषि उपजको सहज ढुवानी र बिक्री वितरण गर्ने व्यवस्था मिलाउन कृषि मन्त्रालयको अनुरोध


काठमाडौँ- कृषि विभागले देशभर तरकारी, फलफूल, बीउबेर्नालगायत कृषि उत्पादनको सहज ढुवानीको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।देशमा विद्यमान असहज र विषम परिस्थितिका कारण कृषिजन्य उत्पादन ढुवानीमा समस्या देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विभागले यस्तो अनुरोध गरेको प्रवक्ता जगन्नाथ तिवारीले जानकारी दिनुभयो ।
यसका कारण उपभोक्ताले तरकारी, फलफूल, बीउबेर्नालगायत कृषि उत्पादन सहजरूपमा उपभोग गर्न पाएका छैनन् । यसले गर्दा कृषक, कृषि उद्यमी र कृषि व्यवसायीसमेत मारमा परेका छन् । कृषक, कृषि उद्यमी र कृषि व्यवसायीकै मागका आधारमा विभागले यस्तो सूचना जारी गरेको हो ।
देशका विभिन्न स्थानमा उत्पादन भएका तरकारी, फलफूल, बीउबेर्नाजस्ता कृषिजन्य उत्पादन एक स्थानबाट अर्को स्थानसम्म ढुवानी गर्न राजमार्गमा सिर्जित समस्या समाधान गर्नुपर्नेमा विभागले जोड दिएको उहाँले जानकारी दिनुभयो । ‘अति संवेदनशील र नाशवान कृषि उत्पादन निर्धारित समयभित्र गन्तव्य नपु¥याए मुलुकको समग्र खाद्य सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने देखिएको छ,’ विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले आज जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।