देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवामाथि भएको हातपात घटनाको जति निन्दा गरे पनि कम हुने बताएका छन् । गत मंगलबार बुढानीलकण्ठस्थित देउवा निवास पुगेका प्रदर्शनकारीले उनी र पत्नी आरजु राणा देउवामाथि कुटपिट गरेका थिए ।
कुटपिटपछि घाइते उनीहरु दुबैको सुरक्षा निगरानीमा उपचार भइरहेको छ । देउवा दम्पत्तिमाथि कुटपिट गरेका प्रदर्शनकारीले उनको घरमा आगो लगाएर ध्वस्त बनाएका छन् । देउवा निवासमा रहेका सरसामान समेत प्रदर्शनकारीले लिएर लगाएका थिए । उक्त घटनाको निन्दा गर्दै नेता डा. कोइरालाले सभापति देउवाको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास रहेको उल्लेख गरेका छन् ।
कोइरालाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उहाँमाथि घरमा बसीरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरे पनि कम हुन्छ । २४ भदौमा प्रदर्शनकारीले कोइराला निवास समेत जलाएका थिए ।
कांग्रेस संस्थापक नेता बीपी कोइरालाका बुबा कृष्णप्रसाद कोइरालाले एक सय वर्ष भन्दा अगाडि बनाएको घरमा गिरीजाप्रसाद कोइराला हुँदै हाल नेता शेखर बस्दै आएका थिए । हजारौं लोकतान्त्रिक योद्धाहरुको भावना जोडिएको निवासमा आगो लगाइएको भन्दै शेखर भन्छन्, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । विपी विचार मर्न सक्दैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिइँदैन । कोइराला निवासको खरानी विजबाट नुतन कांग्रेसको नव निर्माणमा जुट्ने प्रण गरौं ।’