कांग्रेस नेता मोहन बस्नेतको आक्रोश : माओवादीका ‘छाउरा’ ले मेरो घर जलाए


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले आफ्नो घर ध्वस्त बनाउनमा माओवादी केन्द्रको हात रहेको आरोप लगाएका छन् । यसमा स्वदेशी मात्र नभएर विदेशीहरु पनि संलग्न रहेको उनको आरोप छ ।
बस्नेतले आज सिन्धुपाल्चोकस्थित आफ्नो जलेको घर अगाडि केही मानिसहरु जम्मा गरेर आक्रोश व्यक्त गरेका छन् । आफ्नो घर ध्वस्त पारिएकोमा उनले कडा आक्रोश पोखेका छन् ।
बस्नेतको अभिव्यक्तिको मुख्य अंश :
मेरो तीनकुनेको घर पनि जलाई दिएँ, यहाँको पनि जलाइ दिए । माओवादीको सक्रियतामा यो सबै भएको छ । तर, यहाँ स्वदेशी मात्र छैनन् विदेशी पनि देखिएका छन् । यो गम्भीर परिस्थिति हो । मलाई कतिपय साथीहरुले तँ अब बोल्ने काम नगर, प्रष्ट बोल्दा देशमा पच्दैन भनेर पनि भनेका छन् ।
तर म यो देशको लागि, नेपाली जनताको लागि, प्रजातन्त्रका लागि धेरै सानो उमेरदेखि लडेको हुँ । मेरो परिवार पञ्च हुँदा पनि म प्रजातन्त्रका लागि लडेको हो । नेपाल आमा रोइरहेको बेलामा कसले के भन्ला, प्रहरी र सेनाले के गर्ला भनेर चुप बस्न मिल्दैन ।
व्यक्तिका घर जग्गाहरु आगजनी गरेका छन् । यहाँको वाल अस्ति भत्काए । फेरि अस्थायी वाल लगाएको, फेरि भत्काउन आए । गोदेर लखेटेको हिजो । हामी राष्ट्रका लागि लडेका हौं, एक–दुई–जनाले ट्याइफ्याँइ गर्दैमा चुप लागेर बस्ने स्थिति छैन । हिजो प्रहरी र सेनाले मलाई सुरक्षा दिन सकेन । सुर्खेतमा नेपाली कांग्रेसका लडाकु साथीहरुले सुरक्षा दिएर राखेको हो ।
मुलुकलाई अप्ठेरो पर्दा, प्रजातन्त्र खतरामा हुँदा नेपाली भन्ने दलाल, फटाहा, लुटेरा, आतंककारी फेरि रमझम गर्न थालेका छन् । आन्दोलनले एउटा रुप लेला । तर यसको कमाण्डर छैन । जुन आन्दोलनमा नेता, कमाण्डर हुँदैन त्यो आन्दोलन स्थिर हुँदैन । आन्दोलनकारीको बीचमा भाँडभैलो र कुटाकुट भइरहेको छ । यो स्थितिमा देशले कति दुख पाउने हो । हामीले नेपाल भन्न पाउने पनि हो कि होइन भन्ने अवस्था छ ।
म दावाका साथ भन्छु सिन्धुपाल्चोक जिल्लामा कांग्रेस जतिको विकास कसले गरेको छ ? कोही माइकल लाल छ हामीसित दोहोरो कुरा गर्न सक्ने ? सिंहदरबारमा आगजनी गर्ने, सर्वोच्च अदालतमा आगजनी गर्नेको निस्कियो ? कोही ल क्याम्पसका पूर्वसभापति, कोही किर्तिपुरका । यो देशमा माओवादी भन्ने कति गद्दार रहेछन् भन्ने देखिएको छ ।
अब चुनाव त के होला, संविधान मिचिएको छ । चुनाव हुने स्थिति भयो भने कांग्रेस भाग्दैन । तिमीहरु सबैका जमानत जफत गरिन्छ, माओवादीका छाउरा हो । जेएनजीका नाममा एउटा मुभमेन्ट चल्यो । त्यसको पछि लागेर देशभरि आतंक गरेको छ ।
प्रचण्डले केही दिनअघि मात्रै सिंहदरबार र बालुवाटरमा आगो लाग्छ भन्ने हिसाबले वक्तव्य जारी गरेको थियो । एमालेको एउटा छाउरो मेयर भइसकेको मान्छेले मोहन बस्नेतको घरघरमा आगो लगाउने भनेर लेखेको छ । हाम्रो साथीहरुले स्क्रिन सट गरेर राखेका छन् । आतंककारीहरु।
मैले यति कुरा बोल्दा बोल्दै मलाई आजैबाट खतरा बढ्न सक्छ । खतराको बाउ बढोस् । म देश र जनताको लागि लड्न तयार छु । आँपको विरुवा उखेलेका छन् । गमला घरघरमा लगेका छन् । फुल उखेल्या छ । यो बाटो मैले बनाइद्या हो । आगो लगाउने माओवादीहरुले मोहन बस्नेतले टेरामक्स काण्ड गरेर कमाएको जग्गा भनेको छ । छिमेकीहरुलाई सोधे हुन्छ । ५६ सालमा किनेको जग्गा हो यो ।
अहिले बनेको सरकार… सरकार के भन्नु तीन दिनसम्म मन्त्रीपरिषद बन्या छैन । यसको हुति हेरौं के हुँदो रहेछ । भएन भने फेरि जनताको जिउधनको सुरक्षा गर्ने, प्रजातन्त्रको रक्षा गर्ने, मुलुकको रक्षा गर्ने कांग्रेसको पालो हो ।
म यो ठाउँमा आउँदा रोपनीको ५ लाख रुपैयाँ थियो । मैले बाटोघाटो, खानेपानी, ढलको व्यवस्था गरेपछि आनाको ६० लाख भएको छ ।छिमेकीहरुलाई भन्न चाहन्छु, तपाईंहरुले पनि यसको रेखदेख गर्नुपर्ने हुन्छ । तपाईंहरुले पनि के ठिक के बेठिक छुट्याउनु पर्छ । कसले चोरेको भन्नुपर्यो, ठेगान हामी लगाउँला । चोर्न बानी परेकाले भोलि तपाईंको घर चोर्छन् । पर्सी अर्कोलाई लुट्ला । त्यो बेला हाम्रो संरक्षण चाहिन्छ ।