एमालेले काठमाडौंमा १० हजार मानिस उतार्ने, महेश बस्नेतले दिए च्यासलबाट सात सन्देश


काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एक-दुई दिनभित्र काठमाडौंमा १० हजार युवाको जुलुस उतार्ने बताएका छन् । उनले एमाले पुरानै अवस्थाका फर्किएको पनि उद्घोष गरेका छन् ।
जेनजी आन्दोलनपछि जलेको पार्टी कार्यालयमा मंगलबार युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले दुई दिनभित्र राजधानीमा १० हजार युवाको जुलुस गर्न लागेको बताएका हुन् । ‘भोलि या पर्सीमा हामी काठमाडौंमा १० हजार युवाको जुलुस गर्छौं, के हो एमाले देखाउँछौं,’ बस्नेतले भने ।
एमालेले भन्दै आएको ‘मिसन ०८४’ दुई वर्ष अगाडि सरेको र अब चुनावको तयारीमा लाग्ने उनले बताए । ‘हामी अब पुरानो अवस्थामा फर्कियौं, मिसन ०८४ भनेका थियौं । अब ०८२ मा लाग्यौं,’ बस्नेतले भने, ‘अब हामीले बहुमत ल्याउँछौं । नयाँ सरकार बनाउँछौं ।’ एमाले नेता बस्नेतले जेनजीको आन्दोलन आँधीहुरीको रुपमा दुई दिन आएर गइसकेको बताए । जेनजीको आन्दोलनको आवरणमा अराजक तत्वहरुले पार्टी कार्यालयमा आगजनी गराएको भन्दै ध्वस्त पार्टी कार्यालय अगाडिबाट नेकपा एमाले देशभर सक्रिय भइसकेको बताए । उनले नेता–कार्यकर्तालाई सम्वोधन गर्ने क्रममा सात सन्देश समेत दिएका छन् ।
कार्यक्रममा युवा संघका अध्यक्ष क्षितिज थेबेले जेनजीको नाममा विध्वंस गर्नेलाई कारबाही गर्न माग गरेका छन् । ‘जेनजीको नाममा गरिएका षडयन्त्रको पर्दाफास गर्नुपर्छ,’ उनले भने, ‘अहिले चुनावी अन्तरिम सरकार बनेको छ । समयमै चुनाव हुनुपर्छ । संविधानलाई अपव्याख्या गरेर देशलाई राजनीतिक अस्थिरतामा लैजाने कामको खबरदारी गर्नेछौं ।’ कार्यक्रममा केन्द्रीय सदस्य राजीव पहारीले नेकपा एमालेको कार्यालयलाई जलाएर ध्वस्त पारिए पनि एमालेको आस्था र विचार कसैले जलाउन नसक्ने दावी गरे । नेकपा एमालेका नेता–कार्याकर्ताहरु आज जेनजी आन्दोलनको एक सातापछि केन्द्रिय पार्टी कार्यालय च्यासल पुगेर कार्यक्रम आयोजना गरेका हुन् ।
के भने महेश बस्नेतले ?
१. भोलि वा पर्सी राजधानीमा भव्य कार्यक्रम आयोजना गरी १० हजार बढी मान्छे उतार्ने ।
२. अर्थमन्त्री रामेश्वर खनालले सचिवको सेवा सुविधा अझै लिएकाले मन्त्रीको सेवा सुविधा नलिने स्टन्ट देखाएको आरोप ।
३. प्रधानमन्त्री सुशीला कार्कीले पूर्व प्रधानन्यायाधीशको सेवा सुविधा अझै लिएको आरोप ।
४. कुलमान घिसिङले विद्युत् प्राधिकरणमा हुँदा आफ्नो भाइहरूसँग मिलेर करोडौँ चलखेल गरेको आरोप ।
५. गाईको मासु निर्यात गर्न पाउनु पर्छ भन्दै रिट दर्ता गर्ने ओमप्रकाश अर्याल गृहमन्त्री बनेको आरोप ।
६. शहीदको परिवारबाट एक जनालाई मन्त्री बनाउन चुनौती ।
७. प्रदर्शनमा मृत्यु हुने बाहेक चोर्न जाँदा जलेर मर्नेहरूलाई शहीद घोषणा नगर्न र बरु क्षतिपूर्ति दिन चेतावनी ।