`

कांग्रेसका युवा नेताहरूले मागे सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको राजीनामा

Nepal One HD ३१ भदौ २०८२ १७:३२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले आठ निष्कर्षसहित पार्टी सभापति, पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूको राजीनामा मागेका छन् । आज मंगलबार काठमाडौँको नयाँ बानेश्वरमा रञ्जित कर्णको संयोजकत्वमा भएको भेलाले पार्टी केन्द्रीय समिति नै विघटन गर्न भनेको हो ।

यसअघि पार्टीका महामन्त्री गगनकुमार थापाले पार्टी सुधारका लागि नेतृत्वले पद छोड्न तयार भए आफू पनि तयार रहेको बताएका थिए । भदौ २३ र २४ गते भएको जेन्जीको आन्दोलनपछि शीर्ष राजनीतिक नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ ।

यस्तो छ भेलाको आठ निष्कर्ष
जेनजी युवाहरूको साहसले प्रारम्भ भएको भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाएका वीर नेपाली युवाहरू प्रति पुनः भावपूर्ण श्रध्दाञ्जलि व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र हाम्रा कलिला युवाहरूमाथि गोली प्रहार गरी ज्यान लिनेहरूमाथि छानबिन गरी संलग्न जो कोहीलाई पनि तत्कालै कारवाहीको माग गर्दछौं ।

पार्टी सभापति शेरबहादुर देउवा र परिवारमाथि भएको भौतिक आक्रमण, लौह पुरूष गणेशमान सिंह निवास, कोइराला निवास, सन्त नेता किसुनजीको आश्रमलगायत देशभर नेपाली कांग्रेसका पार्टी कार्यलयहरू, देशका सार्वजनिक सम्पत्ति र व्यक्तिगत सम्पत्ति माथि तोडफोड, आगजनी र लुटपाटजस्ता कार्यको निन्दा गर्दै यसमा संलग्न जो कोहीलाई पनि तत्कालै कारबाहीको माग गर्दछौं ।
कांग्रेसले अबिलम्ब गर्नुपर्ने प्रमुख सुधारका कार्यहरू

१. नेतृत्वमा नयाँ सोच :

– वर्तमान सभापति, पदाधिकारी र सबै केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिनुपर्ने ।
– वैचारिक रूपमा योग्य, इमानदार र दूरदर्शी व्यक्तिलाई तदर्थ समितिको सभापति बनाउने, पार्टीको विधानअनुसार समयमै महाधिवेशन सुनिश्चित गर्नुपर्ने र आत्माआलोचना गर्दै जनताको घरदैलोमा गई विश्वास दिलाउने ।

२. युवाको सहभागिता :

– ४० वर्ष मुनिका युवायुवतीहरूको कम्तीमा ५१ प्रतिशत सहभागिता सुनिश्चित गर्दै पार्टी केन्द्रीय समितिमा उनीहरूको प्रतिनिधित्व बढाउने ।

३. भ्रष्टाचार नियन्त्रणः
– पार्टीभित्रै भ्रष्टाचार निवारण आयोग गठन गर्ने ,सरकारी निकायसँग सहकार्य गर्ने र २०४६ देखि यताका उच्च पदस्थ नेता र कर्मचारीहरूको भ्रष्टाचार छानबिन गरी राज्यको अधिनमा ल्याउने ।

४. सदस्यता प्रणालीमा पारदर्शिता र प्रविधिको प्रयोगः
– सक्रिय सदस्यता वितरणका लागि स्वतन्त्र र निष्पक्ष समिति गठन गर्ने ।
– सबै तहका अधिवेशनलाई डिजिटल प्रणालीमार्फत पारदर्शी बनाउने ।

५. उम्मेदवारी सम्बन्धमा

८ स्थानीय र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू क्रियाशील सदस्यहरूबाट छनोट गर्ने व्यवस्था लागू गर्ने। एक पटक चुनावमा पराजित भएका व्यक्तिलाई सोही पदमा पुनः उम्मेदवार हुन नपाउने व्यवस्था मिलाउने ।

६. शक्ति विकेन्द्रीकरण र एक व्यक्ति एक पदः
– पार्टी सभापतिको एकछत्र अधिकारलाई विकेन्द्रीकरण गर्दै निर्णय प्रक्रियामा सामूहिक नेतृत्वको अभ्यास गर्ने । एउटै व्यक्तिले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद धारण गर्न नपाउने व्यवस्था गर्ने ।

७. भातृ–संस्थाको समय सीमाः
– निश्चित समयसीमा भित्र भातृ–संस्थाहरूको अधिवेशन सम्पन्न गर्नु अनिवार्य गराउने र पार्टीले अनावश्यक हस्तक्षेप नगर्ने ।

८. राजनीतिक नियुक्तिमा सुधारः
–राजनीतिक नियुक्तिलाई न्यूनतम बनाउँदै कर्मचारीतन्त्रलाई स्वतन्त्र, पेशागत बनाउने र विज्ञहरू लाई प्राथमिकता दिने साथै विज्ञहरूसहित दीर्घकालीन विकास अवधारणा र योजनाहरू बनाउने ।

सानेपा राखियो कांग्रेसका अग्रज नेताको तस्बिर
नेपाली कांग्रेसका नेताहरुले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त पार्टी कार्यालयको निरीक्षण गरेका छन् ।

मंगलबार सानेपामा रहेको कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर युवा नेताहरुले पार्टी कार्यालयको निरीक्षण गरेका हुन् । पार्टी कार्यालयमा नेता–कार्यकताले पार्टीको झण्डाका साथै अग्रज नेताहरुको तस्वीर राखेका छन् । कांग्रेस नेता मीन विश्वकर्माले तोडफोड र आगजनीका कारण पार्टी कार्यालयमा निकै क्षति भएको जानकारी दिए ।

आन्दोलनका क्रममा आफ्नो नेतामाथि भएको आक्रमण भएको सो दिनलाई कांग्रेसले कालो दिनका रुपमा स्मरण गर्ने उनले बताए । उनले छिटै भौतिक रुपमा पार्टीको केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट दलका महत्वपूर्ण दस्तावेजहरू नष्ट हुनुका साथै ठूलो क्षति पुगेको कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *