`

शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट, लगाइयाे १२ वटा टाँका

Nepal One HD ३ असोज २०८२ १५:१४
नेपाली कांग्रेस

काठमाडौँ । गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडिको भागमा १२ टाँका लगाएर सिलाउनुपरेको खुलेको छ।

हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई निवासभित्र छिरेका आन्दोलनकारीले लछारपछार पार्दै आक्रमण गरेका थिए । आक्रमणका क्रममा देउवालाई पछाडिबा धारिलो हतियारले हानिएको खुलेको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार सानेपामा बसेको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यसबारे जानकारी दिएका हुन् ।

‘हामी सुरुमा अतालिएका थियौँ। उहाँहरू (देउवा र आरजु देउवा)को अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ,’ शुक्रबार पार्टी बैठकको निर्णय सुनाउने क्रममा उनले भने, ‘उहाँ (देउवा)को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ।निको हुँदै गएको छ।’

‘गर्धनमुनि पनि चोट लागेको छ । उपचार जारी छ । सभापति देउवा अहिले हिँडडुल गर्ने, फोन गर्ने गर्दै हुनुहुन्छ । पार्टीसँग सम्पर्कमै हुनुहुन्छ’, उनले भने, ‘तर डाक्टरको परामर्शले उहाँलाई अस्पतालमै राखिएको छ। उठ्दा चक्कर लाग्ने समस्या छ । बोल्दा गाह्रो भएको छ। डाक्टरले अझै केही दिन राखौँ भन्नु भएको छ।’

उनका अनुसार चिकित्सकले धारिलो हतियार प्रहारबाट उक्त चोट लागेको भनेको र कसले के हतियारले प्रहार गर्‍यो भन्ने अहिलेसम्म नखुलेको पनि बताए।

भदौ २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सहभागी आन्दोलनकारीले देउवाको निवासमा आगजनी गरेका थिए। आगजनी र तोडफोड हुँदा घरमै रहेका देउवा दम्पत्तीमाथि आक्रमण भएको थियो।

आन्दोलनकारीले देउवा दम्पत्तीमाथि हातपात गरेका थिए। कुटपिटबाट देउवा दम्पत्तीको शरीर रगताम्ये भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *