भाटभटेनीले कर्मचारीलाई जागिरबाट ननिकाल्ने, सबैलाई दशैं बोनस पनि दिने


काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोटफोड, लुटपाट र आगजनीबाट सबैभन्दा प्रभावित भाटभटेनीले कर्मचारीहरुलाई जागिरबाट ननिकाल्ने भएको छ ।
देशभरका १२ वटा स्टोर पूर्णरुपमा क्षति हुँदा भाटभटेनीलाई १० देखि १५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । तर, भाटभटेनीले भने ती स्टोरमा काम गर्ने कर्मचारीलाई कामबाट ननिकाल्ने भएको छ, भने उल्टै कर्मचारीहरुलाई दशैं बोनस समेत दिने भएको छ ।
भाटभटेकीका सञ्चालक मीनबहादुर गुरुङले ‘आफूसँग आबद्ध भएका भाइ बहिनीहरुको भविष्यका लागि लड्नुपर्ने बताउँदै काम गर्न नपाए पनि उहाँहरुको तलब दिन्छु । भदौको तलब मात्र होइन दशैं बोनस पनि पठाउँछौं ।’ उनले भने ।
आफ्ना कर्मचारीहरुलाई परिवारको सदस्य भन्दै उनले , ‘म चाहीँ दशैं मनाउने पक्षमा छैन । तर, मेरा बच्चाहरु जो मसँग आबद्ध छन् । उनीहरुले त दशैं मान्नुपर्छ नि । दशैंको बोनस पनि पाउँछन् ।’
आफू पैसा कमाउन मात्र व्यापारी नबनेको बताउँदै उनले आफ्नो दौडधुप देशकै लागि भएको बताए । ‘पैसा कमाउँ भन्नेमात्र सोच होइन, रोजगारी सिर्जना होस्, सबै जना सम्पन्न होऔं, देश बनोस् भनेर व्यापार गरेको हुँ,’ उनले थपे ।
गुरुङले ३ महिनाभित्र काठमाडौंका केही स्टोर र १० महिनाभित्रमा सबै स्टोर सञ्चालनमा ल्याउने बताए । उनले क्षतिको यकीन नभए पनि १५ अर्बसम्मको क्षति भएको हुनसक्ने अनुमान गरे ।