पहिरो पन्छाउन समय लाग्दा यात्रीलाई सास्ती


चितवन । नेपाल प्रहरीले तत्काल हाजिर हुन भनेपछि कृष्ण महता बैतडीबाट काठमाडौँ फर्कंदै थिए। आमाको काजकिरिया सकेर काममा फर्कंदा उनी गत शुक्रबार साँझदेखि झरेको पहिरोमा परेर बाटोमै थन्किएका छन् । महता हाल डिल्लीबजार कारागारमा कार्यरत छन् ।
“छिटो आउन भनिएको छ, यहाँ जाममा परियो”, श्रीमतीसमेत काठमाडौँ फर्कंदै गरेका महताले भने, “सडक कहिले खुल्ला र कहिले गन्तव्यमा पुगिन्छ थाहै छैन ।”
यस्तै गुनासो सुनाउँदै थिए जितपुरबाट आएका मुन्ना अन्सारी । बजार नजिक नहुँदा खानेपानीसमेत किनेर खान पाउने अवस्था भएको उनले बताए । शुक्रबार साँझदेखि सडकमा बसेको कहिले खुल्छ भन्ने नै टुङ्गो नहुँदा समस्या भएको अन्सारीले बताए । व्यवसायका लागि काठमाडौँ जान आउँदै गर्दा नारायणगढ मुग्लिन सडक खण्डमा पहिरोमा परेपछि बास नै सडकमा भएको छ ।
बझाङबाट काठमाडौँ जाँदै गरेकी लिसाकुमारी सिंह पहिरोले जाममा परिन् । सादा खानाकोसमेत रु ४०० तिरेर खान बाध्य भएको उनले गुनासो गरिन् । उनी बझाङदेखि यही असोज २ गते काठामाडौँका लागि हिँड्ेकी हुन्। सिंह दाउन्नेमा ११ घण्टाको जाम छिचोलेर आउँदा यहाँ फेरि पहिरोमा परेकी हुन्। आफूसँग भएको पैसा सकिएकाले के खाने भन्ने समस्या भएको उनले बताएकी
हुन् ।
चिउरा, बिस्कुट खाएर सडक पेटीमा दिन बिताउन बाध्य भएको सिंहले बताएकी हुन् । बझाङबाट काठमाडौँका लागि ३८ देखि ३० घण्टा लाग्ने भए पनि नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा नै ३६ घण्टाभन्दा बढी बिताउनु परेको उनले बताएकी छिन् ।
सवारीसाधनको लामो लाइन भएपछि कतिपय यात्रुहरु बजार र बस्ती नभएको ठाउँमा परेका छन् । उनीहरुलाई किनेर खान समेत समस्या छ । पहिरोका कारण सवारीसाधन रोकिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अलपत्र परेका यात्रुलाई चाउचाउ, पानी, भुजालगायत खाद्यान्न सहयोग गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको हो ।
यस्तै सडकमा बस्दा यात्रुहरु बिरामी पर्छन् भनेर स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । शिविरमा प्राथमिक उपचारका सामानहरु, आवश्यकताअनुसारका औषधि सर्वसाधारणलाई दिइएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा खसेको पहिरोमा परी हजारौँ यात्रु अलपत्र परेका छन् । सडक खुलाउनका लागि डिभिजन सडक कार्यालय र ट्राफिक प्रहरी लागिरहेको भए पनि पहिरो झर्नेक्रम नरोकिएकाले पन्छाउन समय लागेको हो । करिब ७० मिटर माथिबाट खसेको पहिरोका कारण १६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो । अहिले पनि पहिरो पन्छाउनेक्रम जारी छ ।