‘जेनजी आन्दोलन हाइज्याक भयो, बारबरा र समता फाउन्डेसनका मान्छे मन्त्री बने’


काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनलाई हाइज्याक गरिएको आरोप लगाएका छन् । आज (मंगलबार) पत्रकार सम्मेलनमार्फत प्रसाईले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको दाबी गरे ।
उनले भने, ‘आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा आगलागी भयो, हामी पनि छक्क पर्यौँ ।’ उनले आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको समेत जिकिर गरेका छन् । प्रसाईले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै अहिले धर्म कमजोर भएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘यो भगवानहरूले बास गरेको ठाउँ हो, भगवान रामचन्द्र हाम्रो गर्व हुन् । अब माटो सुहाउँदो आन्दोलन गर्नुपर्छ ।’ उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन । जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’ प्रसाईंले जेनजी आन्दोलनबाट भएको परिवर्तन नेपालीले नचाहेको टिप्पणी गरेका छन् ।
प्रसाईंले जेनजीको आन्दोलन जनताले नचाहेको दाबी गरेका हुन् । ‘खोजेको थियो एउटा, भयो अर्को । नेपालीले व्यवस्था परिवर्तन खोजेका थिए । यो संविधान परिवर्तन नभएसम्म जनता नेपाल बस्दैनन्,’ प्रसाईंले भने । उनले जेनजीको आन्दोलन आफूले ३ वर्षदेखि भ्रष्टाचार र तस्करविरुद्ध आन्दोलन चलाइरहेको जस्तै भएकोले शुभकामना र समर्थन गरेको बताए ।