नेपाली सेनाद्वारा वीरगञ्जमा वृक्षरोपण


वीरगञ्ज पर्सा । नेपाली सेनाको श्रीजङ्ग गणले आज वीरगञ्ज महानगर–१३ वेल्वास्थित भेडाहा खोलाको तटमा वृक्षरोपण गरेको छ । श्रीजङ्ग गणको तालिम इलाका क्षेत्रको चार किलोमिटर नदी तटमा आजदेखि वृक्षरोपण थालनी गरिएको हो ।
श्रीजंग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले भेडाहा खोलाको नदी कटान हुने क्षेत्रलाई लक्षित गरेर बाँसको बिरुवा रोपिएको जानकारी दिए । “श्रीजङग गणको तालिम इलाकाको चार किलोमिटर नदी तटीय क्षेत्रमा १५ मिटरको अन्तरमा करिब ६ सय बाँसको बिरुवा रोप्ने अभियान थालनी गरेका छौँ,” उनले भने, “यो अभियान असोज महिनाभरि नै सञ्चालन गरिनेछ ।”
गणपति कार्कीले बाँसको बिरुवाले नदीको कटान र धार परिवर्तनलाई रोक्न मद्दत हुने भएकाले वृक्षरोपण अभियान अघि सारेको बताए । “एकातर्फ पर्यावरणको संरक्षण र सम्वद्र्धन गर्न मद्दत पुग्नेछ”, उनले भने, “यसले भूसंरक्षण र नदी कटान लगायतको समस्यालाई रोकथाम गर्ने अपेक्षा गरेका छौँ ।”