विदेशमा रहेका नेपालीलाई मतदाता नामावली दर्ता र मतदानको व्यवस्था मिलाउन ज्ञापनपत्र


काठमाडौं । प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीहरुलाई सहजरुपमा मतदाता नामावलीमा नाम दर्ता र मतदानको व्यवस्था मिलाउन माग गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याललाई आज (शनिबार) ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपाली अभियन्ताले यस्तो आग्रह गरेका हुन् ।
अमेरिका निवासी नेपाली अभियन्ता रमेश भट्टले शुक्रबार गृहमन्त्री अर्याललाई भेटेका थिए । भेटमा रास्वपा केन्द्रीय सदस्य पुकार बम पनि सहभागी थिए । सो क्रममा अभियन्ता भट्टले ‘हाल नेपालकै नम्बरमार्फत मात्र एकपटक प्रयोग हुने पासवर्ड (ओटिपी) प्राप्त गरेर मतदाता नामावली दर्ता गर्नुपर्ने प्रणालीले लाखौँ प्रवासी नेपालीलाई निर्वाचनमा सहभागि हुन हतोत्साहित गर्ने सम्भावना भएकाले विदेशी नम्बर वा इमेलमार्फत पनि ओटिपी उपलब्ध हुने व्यवस्था मिलाइ सहज बनाउन अनुरोध गरेका थिए ।
अमेरिकामा रहेका नेपालीहरूले ३ वटा कन्सुलेट अफिस र एउटा दूतावासमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाउन सकिने सुझाव प्रस्तुत गरिएको छ । यस अभियानलाई सफल बनाउन एनआरएनए र विभिन्न नेपाली सामुदायिक संस्थाहरूले सचेतना फैलाउने, दूतावास–कन्सुलेटसँग सहकार्य गर्ने र मतदाता नामावली दर्ता अभियानमा सहयोगी भूमिका खेल्ने ज्ञापनपत्रमा उल्लेख छ ।
अभियन्ताले गृहमन्त्रीको सकारात्मक पहललाई धन्यवाद दिँदै यो एजेन्डाबाट पछि नहट्न आग्रह गरेका थिए । उनले नेपाली डायस्पोरा यस अभियानलाई सहयोग गर्न सधैं तयार रहेको स्पष्ट पारेका थिए। ‘विदेशमा रहेका लाखौँ नेपाली विद्यार्थी, श्रमिक, व्यवसायी, तथा पेशेवरहरूलाई सुरक्षित, सहज र सम्मानजनक ढंगले मतदान गर्ने अधिकार सुनिश्चित गर्न अब ढिलो गर्न नहुने राष्ट्रिय दायित्व हो,’ अभियन्ता भट्टले भने ।