`

प्रधानमन्त्री कार्कीद्वारा विदेशीस्थित नेपाली नियोग प्रमुखहरूलाई निर्देशन

Nepal One HD २३ असोज २०८२ ६:१८
प्रमुख खबर

काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले विदेशीस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै विभिन्न विषयमा निर्देशन दिनुभएको छ । सम्बोधनका क्रममा उहाँले नेपालमा भएको ठूलो परिवर्तनका विषयमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउन निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।साथै, प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचनको मिति तय भएका सन्दर्भमा विदेशी सरकार र संस्थाको सहयोग आवश्यकपर्ने हुनाले त्यसका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको थियो ।

आन्दोलनका क्रममा पर्यटनलगायत गतिविधिहरू केही हदसम्म कम भएको सन्दर्भमा उहाँले अहिले नेपाल खुलिसकेको र आर्थिक गतिविधि सञ्चालन भइसकेको अवगत गराउन निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्री कार्कीले सो विषयलाई अब छिट्टै सम्बन्धित सबै ठाउँमा, सबै सरकारहरूलाई र सबै सरोकारवालालाई व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको विषयमा जोड दिनुभएको थियो । विदेशमा लाखौँको सङ्ख्यामा नेपाली रहेको अवस्थामा मुलुकको यो परिवर्तनसँगै उहाँहरूका अपेक्षाहरूलाई सम्बोधन गर्न, नियोगले चुस्त दुरुस्त, छिटो र प्रविधि मैत्री सेवा प्रवाह गर्न प्रधानमन्त्री कार्कीले नियोग प्रमुखलाई आग्रह गर्नुभएको थियो । उहाँले पुनर्निर्माणका लागि खोलिएको कोषका विषयमा नियोग प्रमुखलाई आवश्यक प्रचारप्रसार गर्न आग्रह गर्नुभएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूद्वारा विदेशस्थित नेपाली राजदूत/नियोग प्रमुखहरूलाई सम्बोधनको पूर्णपाठ :

परराष्ट्र सचिवज्यू,
विदेशस्थित महामहिम नेपाली राजदूतज्यूहरू,
परराष्ट्र मन्त्रालय र नेपाली नियोगहरूमा कार्यरत सम्पूर्ण राष्ट्रसेवकहरू कर्मचारी साथीहरू,

यहाँहरू सबैलाई थाहै छ गत भाद्र २३ र २४ को जेन–जी पुस्ताको बलिदानीपूर्ण आन्दोलनबाट सृजित यस विशिष्ट परिस्थितिमा हामी आज भर्चुअल माध्यमबाट जोडिएका छौं । आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको छ । सयौं घाइतेहरू अझै पनि उपचाररत हुनुहुन्छ । जेनजी पुस्ताको आन्दोलनले हामीलाई वास्तवमै एउटा नयाँ धरातलमा उभ्याएको छ । उनीहरूका अपेक्षाहरू सम्बोधन गर्न हामी अहोरात्र खट्नुपर्ने समय आएको छ । हामी अवसर र चुनौतीहरूको सम्मुखमा खडा भएका छौँ । चुनौतीहरूको सामना गर्दै देशलाई लोकतन्त्र र समतामूलक समृद्धिको मार्गमा बलियोसँग उभ्याउने जिम्मेवारी यो सरकारलाई आइपरेको छ ।

वर्तमान सरकारको काँधमा ५ मार्च २०२६ (२०८२ फागुन २१) मा आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी रहेको छ । निर्वाचनको मिति आउन अब पाँच महिनाभन्दा पनि कम समय बाँकी छ । साथै, नयाँ पुस्ताले हामीबाट उत्तरदायित्व, सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त नेपाल, रोजगारी सृजना र चुस्त एवं प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा राखेका छन् । यी अपेक्षा अप्राप्य अपेक्षा पनि होइनन् । सार्वभौम जनताले आफूद्वारा अनुमोदित सरकारबाट सुशासनको माग गर्नु सर्वथा स्वाभाविक विषय हो ।

यो सरकारको प्रमुख प्राथमिकता निर्वाचन भए पनि देशमा सुशासन स्थापना गर्ने कार्यमा उच्चतम् मानक स्थापना गर्नेगरी काम गर्न म प्रतिबद्ध छु । यही प्रतिबद्धताका साथ तपाईहरू सबैले आफ्नो कार्य सम्पादन गर्नुहुनेछ । आफ्नो कर्तव्य र इमानमा सम्झौता गर्ने कुनै पनि प्रकारको व्यवहारलाई सहन गरिने छैन ।

जेनजीको चाहनाबमोजिम गठित वर्तमान सरकारलाई नेपाली जनता र अन्तरराष्ट्रिय समुदाय सबैको सद्भाव रहेको छ । छिमेकी राष्ट्रहरू भारत र चीनसहित सबै मित्रराष्ट्रहरू, विकास साझेदारहरू लगायत सबैको सद्भाव र समर्थन रहेको परिप्रेक्ष्यमा जेनजीको चाहनाबमोजिम वर्तमान सरकारले आफ्नो म्यानडेट समयमै सफलतापूर्वक सम्पन्न गर्ने कुरामा म सबैलाई विश्वस्त गराउन चाहन्छु ।

हाल लाखौँ नेपाली युवा दिदीबहिनी र दाजुभाईहरू रोजगारी, अध्ययन, जागिर, पेसालगायतका कामका सिलसिलामा संसारका विभिन्न मुलुकमा हुनुहुन्छ । देशमा भएको यति ठूलो परिवर्तनमा उहाँहरूको योगदान, साथ र सहयोग रहेको छ, र अपेक्षा पनि उत्तिकै रहेको छ ।

खाडी मुलुकहरू र मलेशियामा उल्लेख्य संख्यामा नेपालीहरूले काम गर्नुहुन्छ । उहाँहरूको हकहितको सुरक्षा एवं अधिकार र मागहरू प्रति हामी संवेदनशील हुनुपर्दछ । तत्कालका लागि नियोगहरूबाट उहाँहरूका समस्याहरू समयमै प्रभावकारी ढङ्गले समाधान गर्न र सेवा प्रवाह अझ चुस्तदुरूस्त र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने देखिन्छ भने दीर्घकालमा नेपालमै रोजगारीका अवसरहरू सृजना गरी सबै मिलेर यो देशको विकासमा लाग्नुको विकल्प छैन ।

जेनजी पुस्ताका मागहरू राजनीतिक, आर्थिकलगायत समग्र शासकीय प्रबन्धसँग सम्बन्धित छन् र ती दूरगामी प्रकृतिका समेत रहेका छन् । ती मागहरू पूरा गर्ने अत्यन्त ऐतिहासिक र अभूतपूर्व अवसर सृजना भएको छ । गत २०८२ भदौ २७ गते मेरो नेतृत्वमा गठित यो अन्तरिम सरकारको प्रमुख लक्ष्य भनेकै सुशासनका स्तम्भलाई सुदृढ पार्नु र आगामी आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हो । नेपालको लोकतान्त्रिक मार्गलाई मजबुत बनाउने यही नै अहिलेको अनिवार्य आवश्यकता हो ।

नेपाल अहिले एक निर्णायक राजनीतिक सङ्क्रमणको मोडमा छ । यो बेलामा परराष्ट्र मन्त्रालयलगायत अन्तर्गतका निकायहरूले खेल्नुपर्ने भूमिका ठूलो छ । यस सन्दर्भमा म खासगरी पाँचवटा महत्वपूर्ण विषयहरूमा यहाँहरूले विशेष ध्यान केन्द्रित गर्नुहुन आग्रह गर्दछुः

१. पहिलो, नेपालमा भएको यति ठूलो आन्दोलन, परिवर्तनका लागि नागरिकको चाहना र अन्तरिम सरकारको प्राथमिकताका बारेमा यहाँहरू कार्यरत र सहप्रमाणिकृत मुलुकका सरकारी निकायलगायतका सबै सरोकारवालाहरूलाई जानकारी गराउन आवश्यक देखिएको छ ।

२. दोस्रो हो ५ मार्च २०२५ मा हुने आमनिर्वाचन लोकतन्त्रको मुख्य आधार नै स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचन हो। यस विषयमा वर्तमान सरकार दृढ र प्रतिबद्ध छ । यहाँहरूको कार्यक्षेत्रका सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था र साझेदारहरूसँग यस विषयमा जानकारी र आवश्यक समन्वय जरुरी छ । कुनै मित्रराष्ट्रबाट खास प्राविधिक लगायत अन्य सहयोग लिनुपर्ने अवस्थामा हामीले छुट्टै र छिट्टै यहाँहरूलाई जानकारी गराउने छौँ । यसबाहेक निर्वाचनताका अन्तर्राष्ट्रिय प्रचलन अनुरूप गरिने निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा पनि निर्वाचन आयोगले आवश्यक तयारी शुरू गरेको छ । यी विषयमा सम्बन्धितसँग सम्पर्क र समन्वयमा बस्नुपर्ने हुन्छ । विदेशमा अस्थायी रुपमा रहेका नेपाली नागरिकहरुले निर्वाचनमा मतदान गर्न पाउने विषयमा गृहकार्य भइरहेको छ । उनीहरुलाई कसरी निर्वाचनमा सहभागी गराउन सकिन्छ भन्नेबारेमा सूचना सङ्कलन तथा सुझावको अपेक्षा गरेका छौँ ।

३. तेस्रो, राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष (Physical Infrastructure Reconstruction Fund) स्थापना गरेको छ । यस प्रकारको आधिकारिक कोष सञ्चालनबाट स्रोतको सही, पारदर्शी र समुचित उपयोग हुने र समानान्तर र अपारदर्शी ढङ्गको स्रोत सङ्कलन र दुरुपयोग हुन नदिने उद्देश्य राखिएको छ । सबै नियोगहरूलाई बैंक खाता नम्बर सहितको जानकारी उपलब्ध गराइसकिएको छ । यस विषयमा नियोगहरूबाट प्रचारप्रसार आवश्यक छ ।

४. चौथो, आन्दोलनपश्चात् नेपालको पर्यटन क्षेत्रमा आघात परेको छ । पर्यटनको उच्च सिजनको महिना अक्टोबरमा पूरा क्षमताको ७० प्रतिशतको हाराहारी हुनुपर्ने होटल बुकिङ्गहरू हाल ३० प्रतिशतको हाराहारीमा झरेको छ । यस सम्बन्धमा हाल नेपालमा परिस्थिति सामान्य भइसकेको र पर्यटन, व्यापार, लगानीलगायतका आर्थिक गतिविधिहरू पूर्ववत् रूपमा सञ्चालनमा आइसकेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन अत्यावश्यक भएको छ ।

साथै, आन्दोलनका क्रममा कुनै पनि विदेशी पर्यटकलाई लक्षित नगरिएको र बरु उनीहरूलाई सहयोग गरिएको दृष्टान्तहरूबाट असहज परिस्थितिमा पनि अतिथि देवो भवः को विशिष्ट नेपाली संस्कृति प्रदर्शन भएको विषय पनि स्मरणीय छ ।

५. पाँचौँ, हाल लाखौँ नेपाली नागरिकहरू कामका सिलसिलामा विदेशमा रहेको विषय मैले अघि नै उल्लेख गरिसकेको छु । विदेश जाने क्रम बढेसँगै त्यहाँ रहेका नेपालीहरूसँग सम्बन्धित कामहरू बढेका छन् । उनीहरूलाई आवश्यक सेवा प्रवाह प्रभावकारी बनाउनु र उनीहरूको सम्मान, मर्यादा र हकहितको सुरक्षा गर्नु अत्यावश्यक छ । हाल सयौँ नेपालीहरू विदेशी जेलमा छन, सयौंको ज्यान गुमेको अवस्था छ । क्षतिपूर्तिका लागि परिवारहरू भौतारिरहेको दुःखद् अवस्था रहेको छ । विदेशमा रहेका नेपालीहरू र नेपालमा रहेका उनीहरूका परिवारले मन्त्रालय र अन्तर्गतका विभागहरू र नियोगहरूबाट चुस्त, पारदर्शी र प्रभावकारी सेवा प्रवाहको अपेक्षा राखेका छन् । जेनजी आन्दोलनपश्चात् कुशल, तटस्थ, पारदर्शी, उत्तरदायी, निष्पक्ष, प्रविधिमैत्री र प्रभावकारी सेवा प्रवाह र कार्यसम्पादनमा सबैको अपेक्षा बढेको छ । हामी सार्वजनिक र कानूनी उत्तरदायित्वबाट पन्छिन मिल्ने अवस्था छैन ।
विदेशमा अन्य सेवाका अतिरिक्त उद्धार, शव झिकाउने, क्षतिपूर्ति लगायतका कन्सुलर सेवाहरू स्थानीयस्तरमै सबैले घरबाटै सहजै प्रयोग गर्न सकिने गरी अनलाईन प्रणालीको विकास गरिएको परिप्रेक्षमा यसको उच्चतम प्रयोगका लागि प्रचारप्रसार र सचेतना बढाउनुपर्ने आवश्यकता छ । तसर्थ, यी लगायतका विषयको उचित सम्बोधन, समन्वय र नियमित प्रतिवेदनका लागि नियोग प्रमुखहरूले आवश्यक प्रबन्ध मिलाउनुहोला ।

समस्याहरू अरू पनि छन् । भिजिट भिसाको दुरूपयोगबाट उत्पन्न समस्या लगायत अन्य निकायसँग समन्वय गनुपर्ने विषयमा मन्त्रालय र विभागहरू सक्रिय छन् । रोजगारीको सिलसिलामा विदेश जाने नेपाली दाजुभाई दिदीबहिनीहरूलाई विचौलियाको शोषणबाट बचाउन आवश्यक सबै उपाय अवलम्बन गर्नुपर्दछ । यस विषयमा नियोगहरूबाट पनि ठोस सुझावको अपेक्षा गरिएको छ ।

महामहिमज्यूहरू,

हालको हाम्रो राष्ट्रिय परिस्थितिसँगै विश्व मामिला र व्यवस्था नियाल्दा हामीले के देखेका छौँ भने आजको विश्व राजनीतिक तथा आर्थिक अस्थिरता र सम्भावनाको सङ्गम बनेको छ । एकातिर, विभिन्न खाले भूराजनीतिक प्रतिस्पर्धा र द्वन्द्वले विश्वव्यापी अनिश्चितता सिर्जना गरिरहेका छन् भने अर्कातिर, विश्व समुदाय दिगो विकास, जलवायु न्याय र समावेशी प्रविधिको नयाँ युगमा प्रवेश गरिसकेको छ । सबै देशहरू विकास, प्रविधि, क्षमता र साधनस्रोतमा समान छैनन् । तसर्थ चुनौतीहरू त छन् नै तर नेपालजस्ता देशका लागि नयाँ अवसरहरू पनि देखिएका छन् । त्यसकारण राष्ट्र हितलाई केन्द्रमा राखी हामीले अझ प्रभावकारी कूटनीति सञ्चालन र सक्रियता प्रदर्शन गर्नु अपरिहार्य देखिन्छ ।

अतिकम विकसित राष्ट्रबाट आगामी बर्ष स्तरोन्नति हुने लगायत दिगो विकासका लक्षहरू हासिल गर्न हामीले मित्रराष्ट्रहरूसँग रहिआएको सहयोगात्मक सम्बन्धलाई अझै बलियो बनाउँदै एवं बहुपक्षीय र क्षेत्रीय संगठनहरूसँगको सहकार्यलाई बढाउँदै परस्पर लाभदायी सहयोग, सहकार्य, दिगो लगानी र साझा समृद्धितर्फ अघि बढ्नुपर्ने देखिन्छ । बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा नेपालको प्रभावकारी भूमिका स्थापित गर्न साधन र स्रोतले भ्याएसम्मका नेतृत्वदायी जिम्मेवारीहरू लिने र नेपालको सकारात्मक छवि बढाउँदै जानुपर्छ ।

हालैमात्र इलाम लगायतका जिल्लाहरूमा बाढीपहिरोबाट धेरै क्षति पुगेको सन्दर्भमा बर्षेनी नेपाल जस्ता राष्ट्रले बेहोर्नुपर्ने यस प्रकारका प्राकृतिक प्रकोपहरूसँग जुध्न, जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय कोषहरूबाट लाभ लिन र वित्त, साधनस्रोत र प्रविधिसँग जोडिएका विषय केन्द्रित (issue–based) छलफलहरूमा समन्वयात्मक र प्रभावकारी तयारी सहित सहभागी भई परिणाममा देखिने गरी नेपालको हित प्रवद्र्धन गर्नु आवश्यक छ ।

त्यसैगरी, एकातिर नेपालको आर्थिक कूटनीति प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ भने अर्कोतिर सौम्य शक्ति (Soft Power) का आधारस्तम्भहरूको पहिचान र प्रवद्र्धनका माध्यमबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा र छवि अभिवृद्धि गर्न सार्वजनिक कूटनीति सबल बनाउँदै लैजानुपर्ने देखिन्छ । साथै, श्रम आप्रवासन र गैरआवासीय नेपालीसँग सम्बन्धित विषयहरूको कानुनी, नीतिगत र कार्यकुशलताका माध्यमबाट उचित सम्बोधन हुनु पनि जरुरी देखेको छु ।

यी सबै काम प्रभावकारी र परिणाममुखी बनाउन परराष्ट्र मन्त्रालय र अन्तर्गतका विभागहरू र नियोगहरूको क्षमता बढाउँदै लैजानुपर्ने देखिन्छ । हाम्रा नियोगहरूलाई साधनस्रोत सम्पन्न बनाउँदै लैजानुपर्ने त छँदैछ, भएको साधनस्रोतको समुचित उपयोग गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

अन्त्यमा, हामी इतिहासको एक महत्वपूर्ण कालखण्डमा उभिएका छौं । आ–आफ्नो भूमिका र जिम्मेवारीलाई प्रभावकारी रूपमा बहन गरेर हामी अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो । सुशासन र प्रभावकारी सेवा प्रवाहका साथसाथै आम निर्वाचनका माध्यमबाट जेन–जी पुस्ताको चाहनाबमोजिमको परिवर्तनलाई आत्मसाथ गर्ने यस ऐतिहासिक जिम्मेवारीमा हामी अवश्य सफल बन्नेछौं । यस दिशामा नियोगहरूको महत्वपूर्ण भूमिका छ । देश र जनताको सेवालाई केन्द्रभागमा राखेर पहिलेको भन्दा बढी जिम्मेवारी बोध र सेवाभावले नियोगको कार्यलाई गतिमय बनाउनुहोला । प्रधानमन्त्री र अहिले परराष्ट्रमन्त्री समेतको हैसियतले यहाँहरूलाई मेरो पूर्ण सहयोग रहिरहने छ ।
धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *