जेन–जी शहीद परिवारका तर्फबाट मन्त्रीका लागि तीन जना सिफारिस


काठमाडौं । जेन–जी शहीद परिवारले सरकार समक्ष तीन मन्त्रालयको माग गरेका छन् । आज (बिहीबार) राजधानीको संवाद डबलीमा शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै बेवास्ता गरेकाले खबरदारीका लागि भए पनि आफूहरूको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका छन् ।
शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेन–जी समूह कसैले पनि आफूहरुलाई वास्ता नगरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । चौलागाईले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र सहिद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरेका हुन् ।
शहीद परिवार कमल सुवेदीले पटक–पटक शहीद परिवारलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्नेमा प्रधानमन्त्री तथा मन्त्रीहरुले भेट समेत नदिएको भन्दै आक्रोष पोखे । सुवेदीले आफ्ना परिवारका सदस्यहरुको रगतबाट बनेको सरकार र जेन–जीहरूले सहानुभूति समेत नदिएको गुनासो गर्दै भने, ‘हामीले हाम्रा परिवारका सदस्य गुमाएका छौं, त्यसैमा टेकेर वर्तमान सरकार बनेको छ, जेन–जीहरु विभिन्न समूह बनाउँदै हिँड्छन्, उहाँहरू आ–आफ्नै स्वार्थमा लिप्त हुनुहुन्छ ।’
जेन–जी शहीद परिवार संघर्ष समितिले सरकार समक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीको दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीको आफन्त भोजविक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयको लागि शहीद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । समितिले सो माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।