जेनजी आन्दोलन मुलुकको यथार्थको ऐना, अब संवादको विकल्प छैन : खुश्बु ओली


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य खुश्बु ओलीले देश हाल अत्यन्त संवेदनशील मोडमा पुगेको भन्दै सबै राजनीतिक पक्ष र राज्य संयन्त्रलाई जिम्मेवार बन्न आह्वान गरेकी छन् ।
उनले अहिलेको परिस्थितिमा भावनात्मक प्रतिक्रिया होइन, गहिरो राजनीतिक समझदारी, साझा समाधान र जिम्मेवार नेतृत्व मात्र स्थायित्वको आधार बन्न सक्ने बताएकी छन् ।
ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार, अहिले सडकमा देखिएको जनआक्रोश आकस्मिक नभई दशकौंदेखि थिचिएको असन्तुष्टि, संस्थागत कमजोरी र राजनीतिक असफलताको परिणाम हो । ‘जेनजी पुस्ताले उठाएको आवाज कुनै क्षणिक उन्माद होइन, यो गहिरो पीडा र निराशाको आवाज हो’, उनले भनेकी छन् ।
उनको भनाइमा, अहिले संविधान संशोधन, पुनर्लेखन वा अन्तरिम व्यवस्थासम्बन्धी बहसहरू तीव्र छन् । यी धारहरूलाई अस्वीकार नगरी, एउटै संवाद प्रक्रियामा ल्याएर साझा राष्ट्रिय सहमति निर्माण गर्नु आजको अपरिहार्यता भएको उनको जोड छ ।
ओलीको सन्देश : दोषारोपण होइन, समाधान खोजौं
‘समय दोषारोपणमा होइन, समाधानमा केन्द्रित हुनुपर्ने हो’, ओलीले स्पष्ट पारिन् । उनले जनआन्दोलनको नाममा हिंसा र अराजकता फैलाउनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै, यो राष्ट्रिय सहमति दोषीलाई क्षमा गर्नु होइन, तर राष्ट्रलाई स्थायित्व र मार्गदर्शन दिनको लागि अपरिहार्य कदम भएको बताइन् ।
उनले २०६२/६३ को राजनीतिक इतिहास सम्झाउँदै भनेकी छन्, ‘त्यतिबेला सहमति नगरी एक धार थोपर्दा मुलुक फेरि अस्थिर भयो, अहिले त्यो गल्ती दोहोरिनु हुँदैन ।’
राजनीतिक नेतृत्वलाई चतुरताको आग्रह
ओलीले राजनीतिक नेतृत्वले स्थिति थप जटिल बनाउने उत्तेजक भाषाभन्दा समाधानमुखी सोच अपनाउनु पर्नेमा जोड दिइन् । गणतन्त्रको अभ्यासमा देखिएको कमजोरीलाई अस्वीकार नगरी सुधारतर्फ अघि बढ्नुपर्ने सन्देश उनले दिइन् ।
जेनजी आन्दोलन मुलुकको यथार्थको ऐना
उनका अनुसार जेनजी आन्दोलनले मुलुकको यथार्थको भित्री तह उजागर गरिदिएको छ । ‘यो आन्दोलनले देखाएको मर्म बुझेर अब नागरिक समाज, राजनीतिक दल, सुरक्ष निकाय, राज्यका अंग र आन्दोलनकारी आवाज एउटै संवादको टेबलमा आउन जरुरी छ’, ओलीले भनिन् ।
ओलीको चेतावनी : संवाद बाहेक विकल्प छैन
ओलीले देशसँग अहिले ‘संवेदनशीलता, संवाद र सहमति’ मा आधारित समाधान बाहेक अर्को बाटो नरहेको चेतावनी दिइन् । अन्यथा असन्तुष्टि र अस्थिरताको अर्को चक्र अपरिहार्य हुने स्पष्ट संकेत गरेकी छन् ।
उनको यो धारणा अहिले देशभर फैलिएको असन्तुष्टिपूर्ण वातावरण, जेनजी आन्दोलन र आम नागरिकको आक्रोशबीच आएको हो । यस्तो समयमा राजनीतिक नेतृत्व, नागरिक समाज र राज्य संयन्त्र सबैले जिम्मेवार भएर साझा राष्ट्रिय सहमति र संवादलाई प्राथमिकता दिनुपर्ने माग व्यापक रूपमा उठिरहेको छ ।