रविन्द्र मिश्रको प्रश्न : मेरो दृष्टि दोषी हो कि, देशलाई दशा लागेको हो ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत देशको नेतृत्व, संकट व्यवस्थापन र राष्ट्रिय एकताको अभावप्रति प्रश्न उठाउँदै, ‘मेरो दृष्टि दोषी हो कि, देशलाई दशा लागेको हो ?’ भन्ने भावनात्मक तथा आत्मावलोकनात्मक प्रश्न गरेका छन् । ‘मैले छुट्याउन सकेको छैन–मेरो दृष्टि दोषी हो कि, देशलाई दशा लागेको हो’, भनी मिश्रले लेखेका छन् ।
राष्ट्रपतिको भूमिकामाथि प्रश्न
हालैको राष्ट्रिय संकटको प्रसङ्ग उल्लेख गर्दै मिश्रले आपतकालीन परिस्थितिमा राष्ट्रपतिको भूमिकालाई कठोर रुपमा आलोचना गरेका छन् । ‘राष्ट्रिय संकट आइपर्दा राष्ट्रपतिलाई राष्ट्रिय टेलिभिजनमा आएर सम्वोधन गर्ने नैतिक साहस भएन । उनलाई सेनाले लुकाउनु पर्यो’, भनी मिश्रले उल्लेख गरेका छन् । यसबाट उनले संकटको बेला नेतृत्वदायी भूमिकाको अभाव, पारदर्शिताको कमी र जनतासँगको प्रत्यक्ष संवाद नहुनुमा गम्भीर आपत्ति जनाएका छन् ।
भूराजनीतिक चिन्ता र चेतावनी
नेपालको आन्तरिक अस्थिरता मात्र होइन, भूराजनीतिक संवेदनशीलता पनि मुलुकका लागि खतरा बन्न सक्ने मिश्रको भनाइ छ । उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको भन्दा पनि ठूलो संकट भविष्यमा फेरि आउँदैन भनेर सोच्नु चरम अपरिपक्वता हुनेछ ।’ यसले नेपालमा पुनः ठूला संकटहरूको संभावना रहँदै आएको र त्यसको पूर्वतयारीको खाँचोलाई संकेत गर्छ ।
‘नवीन समझदारी’ मा जोड
मिश्रले ‘नवीन समझदारी’ को बाटोमा जानुपर्ने सुझाव पुनः दोहोर्याएका छन् । यस अवधारणाले पार्टीगत संकीर्णता, वैचारिक कट्टरता र अहंकारलाई छाडेर साझा राष्ट्रिय उद्देश्यमा आधारित सहकार्यको खाँचोलाई औंल्याउँछ । ‘अझै पनि हामी नवीन समझदारीको बाटोमा किन जान सक्दैनौं ? यति बिघ्न अहं र वैचारिक दासता पनि नहोस्, जसले देशलाई नै भड्खालोतिर धकेलोस्’, मिश्रले चेतावनी दिएका छन् ।
सर्वदलीय सहकार्य र क्षमाशीलताको आह्वान
उनले मुलुकलाई संकटबाट बचाउन सबै राजनीतिक शक्तिहरूबीच क्षमा, समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । ‘देशको हितलाई केन्द्रमा राखि सबैले सबैलाई क्षमा गर्दै सबै शक्ति मिलेर जाँदा कसको के बिग्रिन्छ ?’ भन्दै उनले पुराना कटुताहरूलाई बिर्सेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।