`

जेनजी आन्दोलनमा सम्पर्कविहीन थुक्तेन अझै भेटिएनन् , खोजी गरिदिन आग्रह

Nepal One HD २९ असोज २०८२ ७:५४
प्रमुख खबर

सिमकोट (हुम्ला), २९ असोजः नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता हुनुभएको छ । उहाँ काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता हुनुभएको र अझै सम्पर्कमा नआउनुभएको थुक्तेनको परिवारजनले बताएका छन् ।

चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएको थियो । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उहाँका बुबा टैछिरिङ लामाले बताउनुभयो । उहाँका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता हुनुभएको थियो ।

भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता हुनुभएको थुक्तेनका बुबा टैछिरिङले बताउनुभयो । बेपत्ता छोराको खोजी गरिदिन उहाँले सबैमा आग्रह गर्नुभएको छ । बेपत्ता थुक्तेन उहाँका कान्छा छोरा हुन् । थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *