कांग्रेस धनुषाका सभापतिसहित सात जनाविरुद्ध पक्राउ पुर्जी


धनुषा । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले ज्यान मार्ने उद्योगमा शुक्रबार (असोज ३१) पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला सभापति पञ्जिया, उनका छोरा अमर पञ्जियार, क्षिरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोराहरु ४० वर्षीय नवल मण्डल र ३८ वर्षीय कमल मण्डल धानुक, नवलका छोरा २२ वर्षीय नीरज मण्डल र क्षिरेश्वरनाथ–१ रमदैयाका ३८ वर्षीय उमेश यादवविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
उनीहरुविरुद्ध क्षिरेश्वरनाथ नगरपालिका–५ का सुशीलकुमार चौधरीले जाहेरी दिएका थिए । पक्राउ पुर्जी तामेल गर्न पनि इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषालाई अदालतले भनेको छ । केही समय पहिले नेपाली कांग्रेस र नेकपा एमाले समर्थित स्थानीय नेताहरूबीच कुटाकुट भएको थियो । दुवै पक्षले एक अर्का विरुद्ध जाहेरी दिएका थिए ।
नेकपा एमालेका नेताहरू यसअघि नै अदालतमा उपस्थित भएपनि कांग्रेस पक्ष अनुपस्थित भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो । वडाध्यक्ष जिवछ मण्डलले पनि ज्यान मार्ने उद्योगमै एमालेका राजदेव चौधरी, सुशील कुमार चौधरी, अनिलकुमार चौधरी, अनिल यादव र अनित यादवविरुद्ध जाहेरी दिएका थिए। उनीहरु भने अदालतमा उपस्थित भएर बकपत्र गराइसकेका छन् ।