मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा


काठमाडौं । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा नरेफाँटका २६ वर्षीय सञ्जु विक, अनु भनिने उर्मिला विक, सरु भनिने सरस्वती भण्डारी, २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ । उनीहरूमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
असोज ९ गते आँचलले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाएकी थिइन् । गम्भीर रूपमा घाइते भएपछि सञ्जुले उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । उपचारका क्रममा चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
टिकटकमार्फत सञ्जुसँग चिनजान भएकी आँचल सरस्वती भण्डारीसँग केही समयदेखि विवाद रहेको भन्दै उनका भिनाजु प्रकाशनाथ योगीले दिएको जाहेरीमा उल्लेख छ । सोही विषयमा आँचललाई गाली गलौज गरिएको र उनले सहन नसकी आत्महत्या गरेको योगीको दाबी छ । केही म्युजिक भिडियोमा देखिएकी आँचल मोडलिङमा समेत सक्रिय थिइन् । दुई वर्षअघि जापानी भाषा अध्ययन गर्न गाउँबाट काठमाडौं आएकी उनी भक्तपुरमा डेरा लिएर बस्दै आएकी थिइन् ।