कसैले धूप हाल्दैमा कांग्रेस फुट्दैन : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसैले धूप हाल्दैमा नेपाली कांग्रेस नफुट्ने बताएका छन् । आज (सोमबार) सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले पार्टीभित्र भइरहेको छलफललाई लिएर अनावश्यक हल्ला फैलाइएको भन्दै उनले पार्टी विग्रहमा नजाने बताए ।
‘नेपाली कांग्रेस पार्टी सहज छलफल गरेर निष्कर्षमा पुग्छ । नेपाली कांग्रेस पार्टी कसैले विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप बालेको छ भने विल्कुलै नसोचे हुन्छ,’ उनले भने, ‘मैले व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन । नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले नेपाली कांग्रेसका शुभचिन्तकलाई भन्छु–कांग्रेस एक ढिक्का रहन्छ । बद्लिएको परिस्थिति बमोजिम आफूलाई बदल्छ र समाजलाई बदल्ने गरी अगाडि जान्छ ।’
उनले पार्टीभित्र भइरहेको छलफललाई लिएर नै विभाजनसम्मको विषय जोडेर चर्चा गरिएको बताएका छन् । ‘पार्टीभित्र ठूलो स्वर भयो, यो हुनुपर्छ त्यो हुनुपर्छ भन्ने भइरहेको छ । यो त लोकतन्त्र हो नि, अनि नेपाली कांग्रेस हो नि । जहाँनिर सभापतिले ‘यस’ भन्दा ‘यस’ भनेर गोडाफाट भन्दा ‘यस’ भन्दै उभिने होइन नि त । यहाँ फरक मत आउँछन् फरक विचारहरू आउँछन् । एक भएर अघि बढ्छौं ।’
