बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित
म्याग्दी, ११ कात्तिक । मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ ।
मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका अध्यक्ष सविता रोकाले बताईन् ।
“धापुङ्ग र महेशका बासिन्दालाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ”, उनले भनिन्, “बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।”
कुल रु ५७ लाख १० हजार ८६० लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट एक सय ९३ घरपरिवार लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । उपभोक्ताले रु ६४ हजार ९६१ बराबरको श्रमदान गरेका छन् ।
रु ११ लाख ६६ हजार ४२४ मा स्टिल पार्टस् खरिद र उपभोक्ता समितिलाई रु ३१ लाख ८३ हजार ९१ भुक्तानी भएको छ । पुलको सोमबार प्रतिनिधिसभाका निवर्तमान सदस्य तथा पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो । झोलुङ्गे पुल निर्माण भएकामा स्थानीयवासीले नाचगान गरेर खुसीयाली मनाएका छन् ।
