`

काठमाडौँका सार्वजनिक स्थलहरूमा निःशुल्क वाईफाई सेवाको अनुगमन

Nepal One HD १९ कार्तिक २०८२ १५:१९
विज्ञान-प्रविधि

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसहितको टोलीले बुधबार काठमाडौँका विभिन्न सार्वजनिक स्थलहरूमा सञ्चालनमा रहेका निःशुल्क वाईफाई सेवाको अनुगमन गरेको छ।

मन्त्री खरेलको टोलीले नयाँ बसपार्कदेखि टिचिङ अस्पताल, पशुपति आर्यघाट परिसर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको क्षेत्र अवलोकन गरेको हो। मन्त्रालयले झन्डै डेढ महिनाअघि राजधानीका १९ वटा संवेदनशील र अत्यावश्यक सार्वजनिक स्थलहरू—जस्तै अस्पताल, आर्यघाट, बसपार्क र विमानस्थल—मा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गर्ने प्रतिवद्धता जनाएको थियो।

अनुगमनका क्रममा मन्त्री खरेलले उक्त पहलले राजधानीका आम नागरिकलाई डिजिटल पहुँचमा जोड्ने दिशामा प्रभावकारी भूमिका खेलेको बताए। “हामीले बसपार्कदेखि टिचिङ, पशुपति आर्यघाट हुँदै विमानस्थलसम्म निःशुल्क वाईफाई सेवाको अवस्था हेयौं। डेढ महिनाको अवधिभित्र १९ वटा स्थानमा सेवा पुर्‍याइएको छ,” मन्त्री खरेलले विमानस्थलमा पत्रकारहरूसँग भने।

उनका अनुसार दोस्रो चरणमा दुर्गम जिल्लाहरूमा पनि यस्ता सेवाहरू विस्तार गर्ने तयारी भइरहेको छ। “अब हाम्रो योजना अत्यन्तै दुर्गम मानिएका सोलुखुम्बु, रामेछाप, रौतहट, गुल्मी, जुम्ला, म्याग्दी, बैतडी जस्ता जिल्लाका भीडभाड हुने र संवेदनशील सार्वजनिक स्थलहरूमा पनि निःशुल्क वाईफाई सुविधा पुर्‍याउने हो,” उनले बताए।

मन्त्री खरेलले नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वमा नेपाल टेलिकम, एनसेल, वर्ल्डलिङ्क, भायानेटलगायत निजी क्षेत्रका सेवा प्रदायकहरू र समुदायको सहकार्यमा यो परियोजना अघि बढाइरहेको बताए। “यो परियोजना राज्य, निजी क्षेत्र र समुदायबीचको साझा सहकार्यको उदाहरण हो,” उनले जोड दिए।

दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तारबारे बोल्दै उनले भने, “हामीले सुरुवाती चरणमै दार्चुलाका एक गाउँ, बाजुराको एक स्थान र तिलिचो बेसक्याम्पसम्म इन्टरनेट पहुँच पुर्‍याइसकेका छौं। त्यस्तै, जाजरकोटमा आएको प्राकृतिक विपत्तिपछि हामीले १,००० भन्दा बढी व्यक्तिलाई सञ्चारमा पुनःजोडेका छौं।”

उनले दुर्गम क्षेत्रमा सञ्चार र इन्टरनेट विस्तारलाई आफ्नो मन्त्रालय र प्रधानमन्त्री सुषिला कार्कीको पनि शीर्ष प्राथमिकता भएको उल्लेख गरे। “कर्णाली, सुदूरपश्चिम, मधेश लगायतका दुर्गम गाउँ र अन्य जिल्लाहरूमा इन्टरनेट पहुँच पुर्‍याउने कार्य हाम्रो पहिलो प्राथमिकता हो,” मन्त्री खरेलले भने।

सरकारले डिजिटल पहुँच र सूचना प्रवाहलाई सहज बनाउन निःशुल्क वाईफाई परियोजना अगाडि सारेको हो। मन्त्रालयका अनुसार आगामी चरणमा अन्य प्रमुख सहर र पर्यटकीय स्थलहरूमा पनि यस्तो सेवा विस्तार गरिँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *