`

भदौ २३ र २४ को घटनाले देशलाई दशकौँ पछाडि धकेल्यो: महासचिव पोखरेल

Nepal One HD २४ कार्तिक २०८२ १६:५४
नेकपा एमाले

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाले देशलाई दशकौँ पछाडि धकेलेको बताएका छन् ।

घर फर्क राष्ट्रिय अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको आरोप लगाए । उनले यसले समाजलाई सही दिशा प्रदान गर्न नसक्ने बताए । प्रतिगमनकारी षड्यन्त्रलाई पराजित गर्न नसके मुलुकको लोकतन्त्र सही दिशामा अघि बढ्न नसक्ने जिकिर गरे।

प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनःस्थापना आवश्यक रहेको बताए । राजनीतिक दलहरु छलफलमा उपयुक्त बाटो प्रतिनिधि सभाको पुनःस्थापना भन्ने गरिरहेको तर भन्न डराइरहेको बताए । अहिलेको अवस्थामा फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए।

उनले भने, ‘वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको छ । यसले समाजलाई सही दिशा प्रदान गर्न सक्दैन । हाम्रो पार्टीको मान्यता छ, २३ र २४ गतेको घटनाले मुलुकलाई अगाडि होइन, दशकौँ पछाडि धकेल्ने काम भएको छ ।

प्रतिगमनकारी षड्यन्त्रलाई हामीले पराजित गर्न सकेनौँ भने मुलुकको लोकतान्त्रिक दिशा सही बाटोमा अगाडि बढ्न सक्दैन । प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गर्नुपर्दछ । त्यो हाम्रो एजेण्डा हो । भन्न राजनीतिक दलहरु भित्र छलफलमा भन्ने गर्नुहुन्छ, सबैभन्दा उपयुक्त बाटो त प्रतिनिधि सभाको पुनःस्थापना नै हो । तर अहिले भन्न मिल्देन । के भय छ ? अहिलेको अवस्थामा फागुन २१ गते चुनाव हुनसक्छ भन्नेकुरामा विश्वास गर्नुहुन्छ ? चुनाव हुने वातावरण त छैन तर चुनावलाई अस्वीकार गर्न सकिँदैन के भनेको ?’

महासचिव पोखरेलले घर फर्क अभियानको शुभारम्भ भएको आगामी दिनमा यसले निरन्तरता पाउने बताए। उनले एमाले वैचारिक, राजनीतिक रुपमा स्पष्ट रहेको पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *