जेन-जी आन्दोलनमा रोटी सेक्नेहरु एमालेका विरुद्धमा छन्ः नेतृ झाँक्री
काठमाडौँ । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेन—जी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताएकी छन्।
सोमवार घर फर्क राष्ट्रिय अभियान कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् । उनले जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भएपनि त्यसमा रोटी सेक्नेहरु धेरै भएको बताईन् ।
अहिले जेन जी आन्दोलन भर्सेस नेकपा एमाले जस्तो भाष्य खडा गरिएको बताईन् । जेन जी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले आफूलाई दाबी गरेर स्वार्थकेन्द्रित काम गर्न थालेको बताईन् । जेन—जी आन्दोलनमा रोटी सेक्नेहरु एमालेविरुद्धमा खनिएको बताईन् ।
उनले भनिन्, ‘जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश थियो । त्यो सामान्य कुरा थियो । त्यसमा रोटी सेक्नको लागि जुन जुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेन जी आन्दोलन भर्सेस नेकपा एमाले र त्यसको नेतृत्व उभियो समाजमा । जेन जी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले मान्छेहरुले आफूलाई दाबी गरिहेका छन् । चाहे त्यो माओवादी तत्कालिन पार्टी होस्, नेपाली काँग्रेसको एउटा हिस्सा, राप्रपा होस्, रास्वपा होस् । अन्य प्रकारका स्वतन्त्र अभियान चलाउनेहरु हुन्, समाजमा हेरौँ । जेन जी आन्दोलनमा रोटी सेक्नेहरु आज नेकपा एमालेका विरुद्धमा छन् ।’
नेतृ झाँक्रीले समाज कहाँ जाँदैछ भनेर चिन्ता गर्नुपर्ने बताईन् । क्रान्तिकारी शक्तिहरु अब अल्मल गरेर बस्न नहुने भन्दै एमालेमा फर्किन आह्वान गरिन्। सार्वभौमिकता, सार्वजनिक सम्पती, नागरिक जीवनको रक्षाका लागि नेकपा एमालेमा आउनुपर्ने बताईन् ।
