एघारौँ अन्तरराष्ट्रिय ब्राह्मण सम्मेलन पशुपति क्षेत्रमा
काठमाडौँ – जन्म र कर्म दुवै आधारमा ब्राह्मण भएकाहरुको ११औँ अन्तरराष्ट्रिय सम्मेलन यही मङ्सिर १२, १३ र १४ गते काठमाडौँमा हुने भएको छ ।
ब्राह्मण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट नेपाल शाखाको आयोजनामा तीनदिने सम्मेलन गर्न लागिएको संयोजक धर्मराज बरालले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा नौ वटा देशबाट प्रतिनिधि आउने निश्चित भइसकेको पनि उहाँले सुनाउनुभयो । अन्य देशबाट आउने प्रतिनिधिको नाम पनि केही दिनमा प्राप्त हुने भएको छ ।
भारत, पाकिस्तान, बङ्गलादेश, अमेरिका, हल्याण्ड, जर्मनी, अष्टे«लिया, सुरीनाम, बेलायतलगायत देशबाट आउने प्रतिनिधिको नामावली प्राप्त भइसकेको सङ्गठनका मुख्य संरक्षक गर्गाचार्य गुरु अर्जुनप्रसाद बास्तोलाले बताउनुभयो ।
सम्मेलनमा विदेशबाट १५० जना प्रतिनिधि आउने छन् । नेपालका ५० जना ब्राह्मणको सम्मेलनमा सहभागिता रहने जनाइएको छ । तीन दिन चल्ने सम्मेलनमा २०० जना सहभागी हुनेछन् ।
कर्मले सनातनी ब्राह्मणको व्यवहार गर्नेहरुले यस सङ्गठनको सदस्यता लिनसक्ने सम्मेलनको सचिवालय संयोजक रहनुभएका पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।
सम्मेलन पशुपति क्षेत्रमै आयोजना गरिने जनाइएको छ । सम्मेलनको अन्तिम दिन मङ्सिर १४ गते काठमाडौँ घोषणापत्र पनि जारी गर्ने तयारी भएको छ । भारतमा दर्ता भएको सङ्गठनको हालको अन्तरराष्ट्रिय अध्यक्ष डा सुरेशचन्द्र कौशिक रहनुभएको छ ।
