`

अनि बन्यो सिर्जना–विवेकको गीत, ‘तेरी मेरी कहानी’

Nepal One HD २६ मंसिर २०८२ १४:०८
भिडियो

काठमाडौं । मुम्बईमा बसेर संगीतकर्म गरिरहेका अर्जुन कटुवालले सिर्जना सुवेदी र विवेक पंगेनीको प्रेमकथामा बनाएको हिन्दी गीत ‘तेरी मेरी कहानी’ केही दिन अघि सार्वजनिक भयो । सार्वजनिक भएको चार दिनमा यसको म्युजिक भिडियो सार्वजनिक भएको तीन दिनमा एक लाख भन्दा धेरै पटक हेरिसकिएको छ । टिकटक भिडियो, इन्स्टाग्राम र फेसबुकको रिलमा धेरैले यो गीत प्रयोग गरिरहेका छन् ।

विवेक र सिर्जनाको प्रेम र वियोगको कथा हामी धेरैलाई थाहा छ । पिएचडी गर्न अमेरिका पुगेपछि विवेकलाई ब्रेन क्यान्सर भएको थाहा भयो । लामो समय उपचार चल्यो । एउटा सपना बोकेर श्रीमानसँग अमेरिका पुगेकी सिर्जना बिरामी श्रीमानको स्यहारमा समर्पित हुनुप¥यो । विवेक जीवन मरणको दोसाँधमा थिए । विवेकसँगका छोटा पलहरू मोबाइलमा खिचेर सामाजिक सञ्जालमा शेयर गर्थिन् सिर्जना । उनले टिकटकमा शेयर गर्ने भिडियो क्लिप्सले नेपाली प्रयोगकर्ताको मन जित्यो नै, भारतमा पनि इन्स्टाग्रामको रिल्समार्फत त्यत्तिकै भाइरल भयो । कुनै न कुनै रुपमा सिर्जनाको प्रेम संसारभरी प्रसार भयो ।

यिनै सिर्जना र विवेकको प्रेमकथा समेटेर अहिले मुम्बईमा बसेर संगीत कर्म गरिरहेका अर्जुन कटुवालले एउटा गीत बनाए–तेरी मेरी कहानी । विवेकको निधन भएको वर्ष दिन पुगेकै दिन अर्थात मंसिर २१ मै सार्वजनिक गरे । भारतमा पनि सिर्जनाको निःस्वार्थ प्रेमलाई मन पराउने धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भएकाले यो गीत हिन्दीमा ल्याएका हुन् । तर, झापा दमकका अर्जुनले विवेक–सिर्जनाको गीत कसरी हिन्दीमा ल्याए त ? यो प्रश्नको जवाफमा अर्जनुले आफ्नो संघर्ष र सफलताको लामो कहानी सुनाए । उनको जन्मस्थल दमकबाट सुरू भएर भारतको मायानगरी भनिने मुम्बईसम्म पुग्छ ।
घरमा झूट बोलेर संगीत यात्रामा
स्कूल पढ्दैदेखि संगीतका शौखिन थिए अर्जुन । तर, परिवारको आर्थिक अवस्था विवेकलाई ढुक्कले मन लागेको काम गर भन्ने खालको थिएन । उनका बुबाआमा दमक बसपार्कमा खाजा पसल चलाउँथे, अहिलेसम्म पनि यही पसल चलाइरहेका छन् । आफ्नो घर थिएन, भाडाको घरमा बस्थे । अर्जुनलाई समता स्कुल पढाउँथे, जहाँ महिनाको १०० रुपैंया मात्रै शुल्क तिर्नुपर्छ । जेठो छोरोले पढोस्, जागिर खाओस्, आर्थिक रुपमा परिवारलाई भरथेग गरोस् भन्ने बुवाआमाको चाहना थियो । २०७२ सालमा उनले एसईई दिए । एसईईको रिजल्ट आएपछि उनले बुवालाई सुनाए, ‘बुवा, म अब पढ्दिनँ । म्युजिकमा लाग्छु ।’ उनका बुवाले हुँदैन त भनेनन्, तर एउटा शर्त राखे–पढाइ बिगार्न पाइँदैन ।

संगीतकार अर्जुन कटुवाल

दमकमा प्लस टु पढ्दाका दुई वर्ष र यसपछि काठमाडौं आउँदासम्मको समय उनका लागि छटपटाहटको समय थियो । संगीतमा केही गर्न मन थियो, तर के गर्ने भन्ने थाहा थिएन । उनले क्लासिकल म्युजिक सिके, म्युजिक प्रोडक्सन र कम्पोजिसन सिके । सके जति इन्स्ट्रुमेन्ट बजाउने सीप बढाउन खोजे । कम्प्युटर सिके अनि २० हजारमा सेकेन्ड ह्यान्ड ल्यापटप किने र यसमा गर्न सकिने कामहरूमा प्रयास गरे । १२ को रिजल्ट आयो, तर घरमा फेल भएँ भनेर सुनाए । ‘मलाई फुल्ली म्युजिकमा लाग्न मन थियो,’ त्यो समय सुनाउँदै अर्जुन भन्छन्, ‘पढाइमा मन नै थिएन । पास भएँ भन्यो भने पढ्नु पर्छ भनेर म त फेल भएँ भन्दिएँ ।’ यो झुटले उनले चाहे जस्तै ‘फुल्ली’ म्युजिकमा लाग्ने अवसर पाए । अनि आफ्नै घरमा स्टुडियो खोले । स्टुडियोबाट नसोचेको कमाइ भयो । महिनाको दुई लाखसम्म कमाएँ ।’

उनले स्टुडियो सुरू गर्ने बित्तिकै कोरोना महामारीको समय आयो । लकडाउन भयो । सबै गतिविधि ठप्प भयो । अर्जुनले यो समयलाई पनि राम्रोसँग सदुपयोग गरे । स्टुडियोबाट म्युजिक ट्रयाकहरू उत्पादन गरे र अरूलाई बेच्न थाले । महामारी र लकडाउनको बीच धेरै गीतहरू यसैगरी बने । स्टुडियो खोलेका अर्जुनको लागि लकडाउन त अवसर जस्तो पो भयो त । ‘मलाई त राम्रो भयो,’ अर्जुन सुनाउँछन्, ‘त्यतिबेला ट्रयाकलाई ५० हजार भन्दा धेरै नै पथ्र्यो । मैले २०–२५ हजारमा नै ट्रयाक बेच्न थालेँ । यसले गर्दा मलाई भ्याइनभ्याइ जस्तै हुन थाल्यो ।’ स्टुडियोबाट हुने कमाइले घरमा पनि सहयोग हुन थालेको थियो । नपढे पनि छोराले राम्रै गरिरहेको छ भन्ने भएको थियो । तर, अर्जुन सन्तुष्ट थिएनन् ।

गीत गाउँदै गरेको तस्बिर

केही आफ्नै गीतहरू पनि गरे । त्यसमा मिश्रित प्रतिक्रिया पाइरहेका थिए । यसैबेला सुगम पोखरेलको गीत चियाको बोटैमाको ‘कभर सङ’ मा काम गरे । म्युजिक भिडियो पनि बनाए । यसले उनलाई नसोचेको सफलता दिलायो । ४ वर्षअघि उनको युट्युब च्यानलमा अपलोड भएको यो भिडियो ७७ लाख पटक हेरिएको छ । यसबेला उनले गरेका नेपाली गीतहरू भने त्यति चलेनन् ।

काठमाडौंमा हात लागेको निराशा
सायद उनले संगीत अझै सिक्न बाँकी थियो, नेपाली स्रोता र दर्शकको टेस्ट बुझ्न बाँकी थियो । उनलाई लाग्यो–अब दमक बसेर हुँदैन, काठमाडौं जानु पर्छ । उनी काठमाडौं हान्निए । एक जना आफन्त थिए, संगीत क्षेत्रकै । उनकै घरमा बसेर सिक्छु भनेर काठमाडौं आएका थिए अर्जुन । संगीत क्षेत्रकै भएकाले उनको मार्गनिर्देश र सहयोग पनि पाइएला भन्ने थियो । तर, भयो ठीक उल्टो । उनले ती आफन्तबाट प्रेरणा र उत्साह पाएनन्, बरू उल्टै हतोत्साहित गरे । सधैं भएन, मिलेन, तैले सक्दैनस्, जस्ता शब्दमा मात्रै सुन्न पाएको अर्जुन सुनाउँछन् ।
६ महिना काठमाडौंमा बिताए र निराश भएर दमक फर्किए । मानिसको जीवनले कतिबेला बाटो मोड्छ, थाहा हुन्न । अर्जुनको जीवनमा पनि यस्तै भयो । दमक फर्किएर उनले एक महिना निराशामै बिताए । उनलाई लागिरहेको थियो–संगीतमा मैले केही गर्न नसक्ने रहेछ, यो बाटो मेरो होइन । उनले नयाँ बाटो पनि भेटेका थिएनन् । निराशामा दिन काटिरहेका थिए । एक दिन एक जना साथीले भन्यो, ‘काकाले भजन गाउने मान्छे खोजिरहनु भएको छ । गर्छौ ?’

उनलाई यता पनि हात हाल्न मन लाग्यो । साथीका काकालाई भेट्न गए । साथीका काकाले भजनको शब्द दिएर भने, ‘नयाँ पुस्ताले रुचाउने शैलीमा बनाउनु पर्नेछ । तिमीले चार दिनभित्रमा काम सक्नु पर्छ ।’ अर्जुन दिनरात यही भजनको संगीत बनाउन लागे । र, चार दिनपछि काकालाई सुनाए । उनले आफ्नै शैलीमा यो भजनको संगीत बनाएका थिए । काकालाई मन पर्ला भन्ने त उनको मनमा नै थिएन । तै पनि काकालाई आफ्नो स्टुडियोमै बोलाएर सुनाए । ‘काका त कस्तो खुशी हुनुभयो,’ अर्जुनले त्यो क्षण सम्झिए, ‘मलाई त उहाँलाई मन पर्ला भन्ने लागेकै थिएन । भजन गाउने मान्छेले पनि यस्तो मोर्डन म्युजिक मन पराउला भन्ने नै थिएन नि ।’

उनले काठमाडौंका दिनहरू सम्झिए । नेपाली संगीतमा नै काम गर्छौ भन्नेहरूले उनको नयाँ टेस्ट बुझ्न सकेका थिएनन् । काठमाडौंमा त्यति निराश भएर फर्केका उनको गुमिसकेको हौसला एक जना भजन गायकले फिर्ता ल्याइदिए । उनले अर्जुनको हौसला मात्रै बढाएनन्, बाँकी जिन्दगीको बाटो पनि देखाइदिए । उनले भने, ‘तिमी बम्बै जाऊ र संगीत पढ । तिम्रो नयाँ शैलीले त्यहाँ अवसर पाउँछ ।’

जग्गा बेचेर मुम्बईतिर
साथीका तिनै काकाले मुम्बईमा जमेका प्रसिद्ध बाँसुरीवादक भूवन ढकालसँग सम्पर्क गराइदिए । तर, भन्ने बित्तिकै मुम्बई जान सम्भव थिएन । परिवार अझै आर्थिक अभावसँग जुटिरहेको थियो । कम्पोज र प्रोडक्सनको काम गरेर पैसा जुटाउँछु भनेर उनले एक वर्ष मेहेनत गरे । तर, सोचे जस्तो सफलता भएन । बरू यो बीचमा आफूलाई काम गर्न मन लागेका केही ट्रयाक कम्पोज गरे । एक दर्जन जति नयाँ ट्रयाक सिर्जना गरे । यसमा शब्दहरू थिएनन् । भविष्यमा कुनै दिन यसमा काम गर्छु भन्ने थियो उनलाई । तर, पैसाको व्यवस्था भएन । ‘भारू ६ लाख त संगीत पढ्ने ठाउँमा बुझाउनु पर्ने थियो,’ उनले सुनाए, ‘मुम्बई जस्तो ठाउँमा जाने बित्तिकै काम पाइन्छ भन्ने थिएन । कोठा भाडा महँगो हुन्छ । यो सबैका लागि पनि अरू पैसा चाहिन्थ्यो ।’ अन्तिममा उनी बुवाको शरणमा परे तर उनका बुवासँग पनि पैसा थिएन । ‘मसँग भएको यही १० धुर जग्गा हो, जान्छस् नै भने म यही बेचेर भए पनि पठाउँछु,’ उनका बुवासँग भएको विकल्प यही मात्रै थियो । तर, यसमा एउटा शर्त थियो, संगीतको सिकेर कुनै न कुनै प्रमाणपत्र लिनुपर्ने । यो त अर्जुनको पनि इच्छाकै कुरा भयो ।

‘यसको दुईटा फाइदा थियो,’ अर्जुनले त्यसबेला सोचेका रहेछन्, ‘पहिलो कुरा त सिकिन्छ र प्रमाणपत्र पनि हुन्छ । अर्को चाहिँ त्यहाँ घुलमिल हुन र इन्डष्ट्रिमा छिर्न सजिलो हुन्छ ।’ बुवाले जग्गा बेचेर उनलाई सात लाख भारू दिनुभयो । उनीसँग थप एकलाख जति नेपाली थियो । मुम्बई जान उनलाई अहिलेको लागि पुग्दो पैसा भयो । हिड्ने बेला परिवारका सबै भएर एउटा फोटो खिचे । आमाका आँखा सुन्निएको त उनले पहिलै देखेका थिए । छोरो परदेश लाग्दा आमा रोएको उनले थाहा पाए । ‘पछि फोटो हेर्दा पो थाहा पाएँ, बुवाका पनि आँखा सुन्निएका रहेछन्,’ उनले त्यो पल सम्झिए, ‘तर बुवाले हामीलाई आंशु देखाउनु भएन, सधैं हौसला नै दिनुभयो ।’ कलेज जाँदा बोक्ने ब्यागमा आफ्नो ल्यापटप, पैसा र दुईजोर कपडा बोकेर उनी सपना पछ्याउँदै अनिश्चित भविष्य बोकेर माया नगरीतिर लागे ।

मुम्बईमा संघर्ष र सफलता
उज्यालो भविष्य खोज्दै मुम्बई पुगेका अर्जुन जानु पर्ने अँधेरी वेस्ट, बाँसुरीवादक भूवन ढकालको डेरामा । नयाँ शहरमा आशा र अनिश्चितता बोकेर उनी ढकालको डेरामा पुगे । त्यहाँ उनले न्यानो स्वागत मात्रै पाएनन् । अरु दुई वर्ष धेरै कुरा सिक्न पनि पाए । भुवन आफैं बाँसुरीका उस्ताद हरिप्रसाद चौरासियाका शिष्य थिए । यस्ता व्यक्तिसँग एउटै फ्ल्याटमा बस्न पाउनु नै उनका लागि ठूलो अवसर थियो । भूवनका नजिकका साथी थिए तिनैमध्ये एक, तबलावादक हरि ढकाल । हरिले तबलाको ज्ञान पाएका थिए महान् तबलावादक जाकिर हुसैनका भाइ फजल कुरैशीसँग । भूवन र हरि ढकालबाट उनले नसोचेको अभिभावकत्व र मार्गनिर्देश पाए । ‘भूवन दाइ त हुनु हुन्थ्यो नै,’ अर्जनु सुनाउँछन्, ‘हरि दाइबाट मैले एकदमै धेरै सिक्ने अवसर पाएँ । यस्तो अवसर पाउँछु भनेर मैले सोचेको पनि थिइनँ ।’

प्रसिद्ध बाँसुरी वादक भूवन ढकाल

तीन वर्ष संगीतको अध्ययन थियो, यसले पनि उनको संगीतप्रतिको ज्ञानको दायरा फराकिलो बनाउँदै लगेको थियो । मुम्बई पुगेको दुई वर्ष हुँदा उनी अलिअलि काम पनि गर्न थालेका थिए । धेरै फिल्म र गीतमा उनले घोस्ट प्रोड्युसरका रुपमा पनि काम गरे, जसबाट उनलाई पैसा त मिल्थ्यो तर नाम मिल्दैन थियो । उनलाई आफ्नै नाम बनाउनु थियो । केही नयाँ काम गरेर देखाउनु थियो । यसका लागि पहिले आर्थिक रुपमा टिक्न सक्ने अवस्था बनाउनु पर्ने चुनौति थियो । त्यसैले, सबैभन्दा धेरै समय घोस्ट प्रोडक्सनमा नै काम गरे । यसले उनलाई पैसा मात्रै दिएन, मानिसहरूसँग सम्बन्ध बनाउने अवसर पनि दियो ।

यसैक्रमा उनले चर्चित गायक हिमेश रेशमियाको स्टुडियोमा एसिस्टेन्ड प्रोड्युसरको रुपमा काम गर्ने अवसर पाए । केही समयपछि अर्का चर्चित संगीतकार तथा गायक अमित त्रिवेदीसँग काम गर्ने मौका पाए । यसैबेला मुम्बईमा जमेका दार्जिलिङे संगीतकार राजु रसाईलीसँग काम गर्ने थाले । पछिल्लो समय उनले रिसब सेट्ठीको चर्चित फिल्म ‘कान्ताराः च्याप्टर वन’ मा काम गर्ने अवसर पाए । ‘यो मेरो अहिलेसम्मको सबैभन्दा ठूलो एचिभमेन्ट हो,’ अर्जुन सुनाउँछन् । उनलाई लाग्यो उनको सपनाले आकार लिँदैछ । बिस्तारै आत्मविश्वास बढ्दै गयो । एक दिन उनले भूवन ढकालसँग भने, ‘दाइ, म आफ्नै फ्ल्याट लिएर सरौं कि भन्ने सोच्दै छु । स्टुडियोको केही सेटअप पनि गर्नुप¥यो ।’ ‘मैले पनि तिमीलाई यही सल्लाह दिन लागेको थिएँ,’ भूवनले जवाफ दिए, ‘अब तिमी स्वतन्त्र भएर काम गर्नुपर्छ ।’

प्रसिद्ध बाँसुरी वादक भूवन ढकालसँग अर्जुन कटुवाल

मुम्बईमा नेपाली सुगन्धको खोजी
यसपछि उनले केही नेपाली र हिन्दी गीतहरू बनाए । केही आफैं गाए पनि । झरी, जिन्दगी, कारण लगायतका नेपाली गीत बनाए पनि ती गीत त्यति धेरै चलेनन् । बरू यही बेला उनले दमक हुँदै गरेको सुगम पोखरेलको चियाको बोटैमाको कभर चल्यो । हक हे तेरा, तु जरूरी है, हद से, जिन्दगी जिने को लगायतका हिन्दी गीत गरे । चियाको बोटैमाको कभर जस्तो धेरै नचले पनि यी गीतहरूबाट उनले सकारात्मक प्रतिक्रिया पाए । अब केही नयाँ काम गर्नुपर्छ भन्ने उनको आत्मविश्वास अझ बलियो भयो । भाषा जुनसुकै भए पनि उनलाई नेपाली संगीतमा काम गर्न मन थियो । नेपाली माटोको सुगन्धलाई टिपेर संगीतमा उन्न चाहन्थे उनी । यही हुटहुटीले उनलाई सानोमा हजुरआमाले सुनाउने कथाहरू याद दिलायो ।

‘सानो हुँदा हजुरआमाले हामीलाई थुप्रै कथा सुनाउनु हुन्थ्यो,’ अर्जुन सुनाउँछन्, ‘नेपालको पहाडको संगीतमा यिनै कथालाई जोड्दै गीत बनाउन सके कस्तो हुन्थ्यो होला भन्ने लाग्यो ।’ यो ‘कन्सेप्ट’ उनले साथीहरूलाई सुनाए । सबै साथीहरू यति उत्साहित भए कि उनीहरूले तत्काल काम थालिहाले । यसमा गीतको बीचबीचमा हजुरआमाले कथा सुनाइरहेको भाग पनि हुन्छ । उनीहरूले एउटा गीत बनाए पनि । त्यो गीत १२ मिनेटको बन्यो । ‘१२ मिनेटको गीतको भिडियो बनाउन एकदम थोरै पैसामा गर्दा पनि १५–१६ लाख लाग्छ,’ अर्जुनले सुनाए, ‘म अहिले नै यसमा लगानी गर्न सक्ने अवस्थामा छैन ।’ यो प्रोजेक्ट थाँती राखेर उनी नयाँ काम खोज्न थाले । उनलाई लाग्यो, कथा त पुरानो मात्रै हुँदैन, अहिलेकै समयको कथामा पनि त काम गर्न सकिन्छ । यही सोचेर उनी कथा खोज्दै थिए- इन्स्टाको रिलमा सिर्जनाले बनाएको भिडियोमा उनको आँखा अडियो ।

सिर्जना र विवेक

अनि बन्यो तेरी मेरी कहानी…
उनी सिर्जना र विवेका छोटा रिल खोजीखोजी हेर्न थाले । यसरी हेर्दाहेर्दै उनको मनमा एउटा धुन बज्न थाल्यो । मनमनै गुनगुनाउन थाले, ‘ये तेरी मेरी कहानी है ।’ आफैंले एउटा धुन सिर्जना गरे र शब्द रचनाकार रितिक कौललाई सुनाए । उनले गीतको लिरिक्स लेखे ।
‘कागज के रास्ते मिले थे हम, फिर मिलेंगे उसी तरह
ये तेरी मेरी कहानी है’
यतिबेला विवेकको उपचार चलिरहेको थियो । गीतको आशय उपचारपछि विवेक ठीक हुनेछन् र उनीहरू पहिलाको जस्तै जिन्दगीमा फर्किने छन् भन्ने थियो । तर, कथाले अर्कै मोड लियो । गीत बनिसकेपछि विवेकले अन्तिम सास फेरे । अर्जुनलाई यत्तिकै गीत निकाल्दा सिर्जनाले भोगेको पीडामाथि अन्याय हुन्छ जस्तो लाग्यो । ‘उहाँले जुन पीडा भोग्नु भएको छ, अरूले त्यति त महसुस गर्न सक्दैन तर गीत सुन्दा/हेर्दा केही न केही उहाँको पीडा दर्शकलाई पनि महसुस होस् भन्ने थियो,’ अर्जुन सुनाउँछन् । यही सोचका कारण उनीहरूले गीतको शब्द परिवर्तन गरे । यसपछि फेरि यसमा काम गरेर गीत तयार पारे । गायनमा उनलाई पम्फा चाम्लिङ र सोनिया उपाध्यायले साथ दिए । गीत रेकर्डिङ र मिक्सिङको सबै काम मुम्बईमा नै गरे ।

गीत त बन्यो, म्युजिक यसपछि बनाउनु पर्ने थियो म्युजिक भिडियो । म्युजिक भिडियोका लागि उनले सिर्जना र विवेकले जस्तै टिकटकमा कमेडी कन्टेन्ट बनाउने जोडी खोज्न थाले । ‘उहाँहरू पहिले कमेडी कन्टेन्ट बनाउनु हुन्थ्यो,’ अर्जुनले सुनाए, ‘यस्तै कन्टेन्ट बनाउने कपल भए अझ धेरै फिल ल्याउन सकिन्छ कि भन्ने भयो ।’ खोज्दै जाँदा उनको सम्पर्क निमेष श्रेष्ठ र वर्षाजंग क्षेत्रीसँग भयो । निमेष र वर्षाले बनाउने भिडियोहरू टिकटक र इन्स्टाको रिल्समा निकै रूचाइने गरेको छ । उनीहरूलाई नै लिएर उनले भिडियो बनाए । भिडियोको छायांकन इलाममा गरे । लामो समयको मेहेनत पछि गीत तयार भयो । यसपछि मात्रै उनले सिर्जनालाई सुनाए । ‘इन्स्टामा म्यासेज गरेको थिएँ,’ आठ महिना पुरानो कुराकानी सम्झिँदै अर्जुन सुनाउँछन्, ‘मैले यस्तो गीत बनाएको छु, तपाईंलाई राम्रो लाग्यो भने म रिलिज गर्छु । तपाईंको पीडामाथि न्याय हुँदैन जस्तो लाग्यो भने रिलिज नगरौंला भनेको थिएँ ।’

खुसी र पीडादायी पलमा विवेकसँग सिर्जना

सिर्जनाले नेपाल आएको बेला हेरौंला भनेकी थिइन् । सिर्जनालाई निमेष र वर्षाले पनि सम्पर्क गरेका थिए । काठमाडौंमा भेटेर उनीहरूले सिर्जनालाई म्युजिक भिडियो देखाए । ‘उहाँले आधा भन्दा धेरै हेर्न सक्नु भएनछ, तर गीत निकाल्दा हुन्छ भन्नु भयो,’ अर्जुनले सुनाए । आठ महिना अघि नै तयार भएको गीत रिलिज गर्ने समय कुर्दै बसिरह्यो । ‘अनि मंसिर २१ गते, विवेकजीको वार्षिक पुण्यतिथिमा यो गीत रिलिज गरेका हौं,’ मंसिर २१ को मिति छान्नुको कारण अर्जुनले खुलाए । ‘मैले भाइरल हुन वा चर्चा कमाउन यो गीत गरेको होइन, मलाई अहिलेको कुनै कथामा गीत बनाउनु थियो,’ अर्जुन सुनाउँछन्, ‘उहाँहरूको प्रेरणादायी कथा अरूलाई पनि सुनाउनु पर्छ, यो निःस्वार्थ प्रेमबाट अरूले पनि सिक्नु पर्छ भन्ने लागेर यो गीत बनाएको हो । गीत हेर्ने दर्शकले थोरै भए पनि सिर्जनाजीको पीडा महसुस गर्न सक्नुहोस् भन्ने मात्रै मेरो चाहना हो ।’

यो हो अर्जुनले बनाएको तेरी मेरी कहानी…


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *