`

नेपालीको हिम्मत र साहस विश्वमै अनुपम छः सञ्चारमन्त्री खरेल

Nepal One HD १ पुष २०८२ १८:४४
प्रमुख खबर

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विभिन्न क्षेत्रमा नेपालीले विश्व कीर्तिमान कायम गर्ने हिम्मत र साहस विश्वकै अनुपम रहेको बताउनुभएको छ ।

आजदेखि सुरु भएको ‘१०० घण्टा निरन्तर टेलिभिजन संवाद’ (नन–स्टप म्याराथन टिभी टक शो) को उद्घाटन गर्दै उहाँले नेपालीले विभिन्न क्षेत्रमा कायम गरेको विश्व कीर्तिमानले नेपालको पहिचान र स्वाभिमान विश्वभर छाएको बताउनुभयो ।

युवा पत्रकार गौरव पौडेलले गिनिज बुकमा नाम दर्ज गर्ने उद्देश्यले पहिलो पटक कमलादीस्थित ‘स्काइवाक टावर’ बाट १०० घण्टा लामो संवाद सञ्चालन गर्नुभएको हो । प्राइम टेलिभिजनमार्फत प्रसारण हुने संवाद कार्यक्रमको उद्घाटनसँगै सञ्चारमन्त्री खरेलले पहिलो वक्ताको रूपमा अन्तर्वार्ता दिनुभएको छ । त्यस क्रममा उहाँले पौडेललाई सफलताका लागि शुभकामना दिनुभयो ।

मन्त्री खरेलले भन्नुभयो, “नेपालीसँग जन्मजातै क्षमता छ, हामी असाध्यै सहनशील छौँ, सहनसक्ने क्षमता पनि छ । नेपालीले कतिपय विश्वविख्यात काम गर्ने हिम्मत र साहस गर्न सक्छन्, त्यसैले त तेञ्जिङ नोर्गे शेर्पा र पासाङल्हामु शेर्पाले सगरमाथा चढेको रेकर्ड छ ।”

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सञ्चारकर्ममा रहँदा ६२ घण्टा निरन्तर अन्तर्वार्ता लिएर गिनिजबुक अफ वल्र्ड रेकर्ड बनाउनुभएको थियो ।

पत्रकार ऋषि धमला र अभियान्ता दुर्गा प्रसाईँले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । निरन्तर टेलिभिजन संवाद कार्यक्रमका सञ्चालक गौरव पौडेलले युवाहरूको सोच, क्षमता र सिर्जनशीलतालाई अन्तरराष्ट्रिय मञ्चमा उजागर गर्दै नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *