`

खड्का नाम मात्रका कार्यवाहक, शक्ति सबै देउवामै : गगन थापा

Nepal One HD ९ पुष २०८२ १७:२४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाम मात्रको कार्यवाहक दिएर कांग्रेस आफैंले चलाएको आरोप लगाएका छन् । थापाले कार्यतालिका संशोधन गरेर गतिका साथ अगाडि नबढे विशेष महाधिवेशनमा जानुको विकल्प नहुने बताएका छन् ।

बुधबार कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले नाम मात्रको कार्यवाहक दिएर सभापतिले शक्तिको अभ्यास गरिरहेको आरोप लगाएका हुन् । देउवाकै कारण महाधिवेशन प्रभावित भएको उनले बताए । ‘सभापतिजीले कार्यवाहक दिनुभयो, नाम मात्रको कार्यवाहक दिनुभयो । उहाँ यहाँको बैठकमा आउनु भएको छैन बाँकी रहेको शक्ति त्यहीबाट अभ्यास भइरहेको छ,’ थापाले भने । देउवाले असोज २८ गते पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका थिए । महामन्त्री थापाले महाधिवेशन नगरी कांग्रेस चुनावमा जान नसक्ने बताए ।

‘कार्यतालिका संशोधन गरेर गतिका साथ अधिवेशनमा जाने निर्णय भएन भने विशेष महाधिवेशनमा जानुको विकल्प छैन,’ थापाले भने, ‘अधिवेशन नगरी, नयाँ नेतृत्व नछानी पार्टी निर्वाचनमा जान हुँदैन । कांग्रेसप्रति चिन्ता भएका सबैले यो बुझ्नु पर्छ ।’ पुस २६ गतेदेखि गर्ने भनिएको महाधिवेशन समयमा नहुने देखिए पछि कांग्रेसले कार्यसम्पादन समितिमा छलफल शुरू गरेको हो । कांग्रेस कार्यसम्पादन समितिको बैठक बिहीबार पुनः बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *