`

केबीआरको वैकल्पिक राजनीति : कस्तो विकल्प, कसलाई विकल्प ? (भिडियाेसहित)

Nepal One HD १५ पुष २०८२ १८:१६
अन्तर्वार्ता/बिचार
  • केबीआरको ट्रायोले नवयुवाको विश्वासलाई कायम राख्न गाह्रै पर्ने देखिन्छ  
  • नवयुवाका प्रश्न बामपन्थी कि उदारवादी कि दक्षिणपन्थी भन्ने हुँदै होइन  
  • अहिलेको रास्वपा तीनवटा व्यक्तिगत कल्टको गठजोड हो

०६२–६३ को जनआन्दोलनपछि नेपालमा वैकल्पिक राजनीति र वैकल्पिक राजनीतिक पार्टीको बहस तथा विभिन्न खाले अभ्यास सुरु भयो। झन्डै दुई दशकपछि अर्को आन्दोलनको जगमा यो शक्ति राष्ट्रिय राजनीतिको मुलधार बन्ने देखिएको छ ।

जेनजी विद्रोहको जगमा कुलमान-रवि-बालेन मिलनले वैकल्पिक राजनीतिको शक्ति ह्वात्तै बढ्ने अनुमान गर्न सकिन्छ । यसअघि विवेकशील साझाको रास्वपामा विलयले केही न केही जनमत पक्कै बढाउने नै छ । जनमतभन्दा पनि ठूलो कुरा वैकल्पिक र आदर्श राजनीतिका मार्गदर्शक मानिएका उज्वल थापाको’लिगेसी’पाउने छ।

सशर्त नै सही, विद्रोही जेनजी अगुवाको पनि समर्थन र सहभागिता रहेको रास्वपाले फागुन २१ को चुनावमा बहुमत ल्याउने, बहुमत नल्याए पनि सबैभन्दा ठूलो पार्टीका रुपमा सरकार बनाउने अनुमान धेरैले गरिरहेका छन् । यही आँकलनसहित नै काठमाडौंका मेयर बालेन शाह रास्वपा प्रवेश गर्दै प्रधानमन्त्रीको उम्मेदवार बनेका हुन् ।

कुलमान, बालेन र रविबीच भएको एकता, अधिकांश जेनजी आन्दोलनका अगुवा तथा समूहहरूले साथ दिएपछि रास्वपा वैकल्पिक राजनीतिको मुलधार बन्ने देखिएको छ। कतिपयले यही पार्टीले बहुमत ल्याउने अनुमान गरिरहेका छन् । यही आँकलनकै आधारमा बालेनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा देखिरहेका छन् । बहुमत प्राप्त नगर्दा पनि यो दल नेपालको ठूलो राजनीतिक दलमध्ये एक बन्ने निश्चित छ । तर,सामाजिक सञ्जालको शक्ति प्रयोग गरेर उदाएका बालेन र लोकप्रियतावादको छहारीमा रमाइरहेका रवि लामिछानेबीचको यो गठबन्धनले कस्तो विकल्प बन्ला त ? उदाउँदो शक्तिमाथि प्रश्नहरू हुने नै भए । विश्वास नजितेसम्म समर्थन पनि शंकासहित हुन्छ, अर्थात् शंकाको सुविधा ।

वैकल्पिक राजनीति नेपालमा भइरहेको विल्कुलै नौलो अभ्यास होइन । २१औँ शताब्दी संसारभर वैकल्पिक राजनीतिको बहसको युग बनेको छ । विश्व राजनीतिमा परम्परागत दलहरू बामपन्थ, उदारवाद, मार्क्सवादजस्ता विचारधाराका आधारमा खडा भएका थिए । तर, समयक्रममा ती विचारधाराले उत्पादन गरेको राज्य–व्यवस्था स्वयं गहिरो सङ्कटमा फसेपछि नयाँ राजनीतिक प्रयोगको खोजी सुरु भयो।

सोभियत संघको विघटनपछि उदारवादी लोकतन्त्रलाई इतिहासको अन्तिम गन्तव्य ठानियो । तर,यो भ्रम चाँडै नै चकनाचुर भयो । आर्थिक असमानता, नवउदारवादी संरचनाबाट पैदा भएका सङ्कट,पर्यावरणीय विनाश,पहिचानको राजनीति र डिजिटल प्रविधिको राजनीतिक हस्तक्षेपले परम्परागत पार्टीहरूको वैधतामाथि प्रश्न उठायो। यही पृष्ठभूमिमा विश्वभर वैकल्पिक राजनीतिक दल र आन्दोलनहरू देखापरे ।

पश्चिमी दुनियाँमा ग्रिन पार्टी, पोडेमस, ला फ्रान्स इन्समिज, पाइरेट पार्टीजस्ता दलहरू सामाजिक आन्दोलनको जगमा उभिए। यिनीहरू परम्परागत दलले सम्बोधन गर्न नसकेका नयाँ मुद्दा बोकेर आएका थिए। यद्यपि, यी दलहरू पनि अन्ततः नवउदारवादी संरचनाभित्रै सीमित हुँदै गएको आलोचना बढ्दो छ।

दक्षिण एसियामा आम आदमी पार्टीको उदयले “सेवाको डेलिभरी” र “भ्रष्टाचारविरोध”लाई वैकल्पिक राजनीतिको मूल नारा बनायो। यही प्रभाव नेपालमा पनि पर्यो। बाबुराम भट्टराईको नयाँ शक्ति, उज्ज्वल थापाको विवेकशील नेपाली पार्टी, पछि साझा पार्टी, जनमत पार्टी र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी यही राजनीतिक चिन्तनका उपज हुन्।

नेपालामा भने वैकल्पिक राजनीतिले गएको स्थानीय निर्वाचनमार्फत ठूलो धक्का दियो । काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित भएपछि संसारभरी उनको चर्चा भयो । देशभित्र धरानका हर्क साङपाङ र धनगढीका गोपी हमालको पनि चर्चा कम थिएन ।

स्थानीय चुनावमा स्वतन्त्रको सफलता देखेर नै हो, टेलिभिजनमा कार्यक्रम चलाइरहेका रविले रातारात राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको । पार्टी खोलेको ६ महिना पनि नपुग्दै २७५ जनाको संसदमा २२ जना सांसद बनाएर चौथो पार्टी हुनु चानचुने सफलता थिएन ।

रास्वपाको उदयले नेपालको राजनीतिमा ठूलै तरङ्ग पैदा गरेको हो । तर,पार्टी सभापति रवि लामिछानेमाथि लागेको सहकारी प्रकरणले रास्वपाको नैतिक दाबीलाई गम्भीर धक्का पुर्‍यायो। यसले वैकल्पिक राजनीतिको एउटा पुरानै समस्या फेरि उजागर गरेको हो- व्यक्तिमा केन्द्रित राजनीति । अब केबीआरको ट्रायोले यो नैतिक प्रश्नमा कस्तो जवाफ दिएला ? चुनावपछि उनीहरूले गर्ने राजनीतिले जवाफ दिने छ ।

केबीआरको यो ट्रायोलाई नवयुवाको राम्रै समर्थन देखिन्छ । सामाजिक सञ्जालमा हुर्किएको, परम्परागत पार्टी संरचनाप्रति असहिष्णु, विचारधाराभन्दा परिणाम र इमानदारी खोज्ने पुस्ताले खुला रूपमा राजनीतिक असन्तोष व्यक्त गरिरहेको यो पुस्ताले सरकारबाट तात्तातो सुधार चाहिरेहको छ । उसका माग धेरै सैद्धान्तिक छैनन्, सेवा प्रवाहमा सुधार गर र भ्रष्टाचार नियन्त्रण गर भन्ने नै नवयुवाका माग हुन् ।

उनीहरू चाहन्छन्, देशमै बसेर गरिखान सकियोस् । डाक्टर-इन्जिनियरको पढाइ, कम्युटर इन्जिनियरको पढाइ देशमै गतिलो होस् । नवयुवाको यो चाहनालाई पूरा गर्ने कार्यक्रम के छ त ? प्रष्ट जवाफ नहुने हो भने केबीआरको ट्रायोले नवयुवाको विश्वासलाई कायम राख्न गाह्रै पर्ने देखिन्छ । किनभने यो पुस्ता तीन सेकेन्डको भिडियोवाला पुस्ता हो, बा-बाजे पुस्ताले जस्तो पर्खेरै जीवन बर्बाद पार्न चाहँदैन ।

नवयुवाका प्रश्न बामपन्थी कि उदारवादी कि दक्षिणपन्थी भन्ने हुँदै होइन । यो पुस्ताको प्रश्न त राज्य किन काम गर्दैन?, सत्तामा पुगेपछि नेताहरू किन जवाफदेही हुँदैनन्? र, राजनीति किन नागरिक जीवनभन्दा पर-पर उछिट्टिँदै जान्छ भन्ने हो ? यी प्रश्नको जवाफ सिद्धान्तका ठेलीमा होइन, नैतिक आचरण र जवाफदेही व्यवहारमा पाइन्छ ।

यो पुस्ताले हिजोको बाम पुस्ताले जस्तो समाजवादको नारा र झण्डा बोकेको त छैन, नवउदारवादले सिर्जना गरिरहेको संरचनागत समस्यालाई भने दह्रै प्रश्न गरिरहेको छ । सरकार र दल जनताको दैलो छोडेर कर्पोरेट टाइकुनका वरिपरि घुमेको देखि लिएर नीति निर्माणदेखि बजेट बनाउने ठाउँसम्म बत्ति निभाएर उनीहरू प्रवेश गरे भनेरै त यो पुस्ता रिसाएको हो । सहमति पत्रमै उदार अर्थनीति मान्छौं भन्ने केबीआरको ट्रायोले जवाफ त पक्कै दिनुपर्छ कि कर्पोरेट-सरकारको अनैतिक साँठगाँठलाई कसरी ठेगान लगाउँछौ ?

मिटरब्याजको समस्या ज्युँकात्युँ छन्, सहकारीपीडितले पैसा फिर्ता पाएका छैनन्, उखु किसानको दुःख कसले बुझ्ने यो देशमा ? यी त सतहमा देखिएका समस्या हुन्, खोज्दै जाने हो भने निकुञ्जले उठाएका तराईका आदिवासीदेखि बाँदरले लखेटेका पहाडका गाउँका मान्छेका दुःखको बेलिबिस्तार लामै छ ।

यस्ता समस्याको समाधान देऊ भनेरै वैकल्पिक राजनीतिको बागडोर केबीआरलाई सुम्पिन जेनजी विद्रोही तयार भएका हुन् । उदार अर्थनीतिले अर्थसंरचनामा सबैभन्दा पिँधमा रहेका यी वर्गलाई सुन्छ ? छुन्छ? भोट माग्न जाँदा जवाफचाहिँ जति लोकप्रिय भए पनि केबीआरले दिनुपर्ने हुन्छ । उदारवादी अर्थनीतिले सबैभन्दा धेरै थिचिएका जनतालाई विकल्प दिए पो वैकल्पिक त, होइन र?

एउटा कुरा निर्ममताका साथ भन्नै पर्ने हुन्छ, अहिलेको रास्वपा तीनवटा व्यक्तिगत ‘कल्ट’को गठजोड हो । व्यक्तिलाई सर्वेसर्वा मान्ने राजनीतिको विकल्पका रूपमा लोकतान्त्रिक विधि र पद्धतिमा चल्ने जवाफदेही दल र त्यसले चलाउने सरकार खोजेका हुन् जनताले ।

व्यक्तिगत लोकप्रियताको उत्कर्ष अभ्यास गरिरहेका केबीआरले पार्टी कसरी चलाउँछन्, सरकार कसरी चलाउँछन् ? समाजले प्रश्न त सोधि नै रहन्छ । व्यक्तिगत महत्वकांक्षा, लोकप्रिय ता को भरमा बलमिच्याइँ, अपारदर्शी जीवनशैली र शासनशैली कसरी व्यवस्थापन हुन्छ ? यो प्रश्नको जवाफमा नै यो दल कति दीर्घकालीन यात्रामा जान्छ भन्ने निर्भर हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *