`

‘भविष्य सबैभन्दा बलियाहरूको होइन, निरन्तर प्रयास गर्नेहरूको हो’ 

ताकाआकी काजिता १६ पुष २०८२ ११:०३
अन्तर्वार्ता/बिचार

विश्वका सबैभन्दा ठूला विश्वविद्यालयहरूमा पर्ने त्रिवभूवन विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्न पाउनु र तपाईंहरूसँग स्नातक उपाधि प्राप्त गरेको उत्सव मनाउन पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो।

दीक्षान्त केवल एउटा औपचारिक कार्यक्रम मात्र होइन; यो एउटा परम्परा हो। यसले जीवनको एउटा अध्यायको अन्त्य र अर्को अध्यायको सुरुवातलाई जनाउँछ। तपाईंहरू अहिले अवसरले भरिएको तर अनिश्चितताले पनि घेरिएको संसारतर्फ अघि बढ्दै हुनुहुन्छ। कृत्रिम बुद्धिमत्ता जस्ता प्रविधिहरूले हाम्रो समाजलाई अहिलेसम्मकै तीव्र गतिमा रूपान्तरण गरिरहेका छन्। जलवायु परिवर्तन, असमानता र भू-राजनीतिक तनावजस्ता वैश्विक चुनौतीहरूले मानव जातिलाई निरन्तर परीक्षामा राखिरहेका छन्, र काम तथा ज्ञानको स्वरूप पनि बदलिँदै गएको छ।

यसको अर्थ, आजपछि सुरु हुने तपाईंहरूको यात्रा सधैं सहज नहुन सक्छ। कहिलेकाहीँ तपाईं आफैंप्रति शङ्का गर्न सक्नुहुन्छ, भविष्य अस्पष्ट देखिन सक्छ। तर म तपाईंहरूलाई एउटा महत्त्वपूर्ण कुरा भन्न चाहन्छु-आज तपाईंहरू यहाँ हुनु आफैंमा तपाईंहरूले चुनौतीहरू पार गरिसकेको प्रमाण हो। तपाईंहरूले दृढता, जिज्ञासा र सङ्कल्प देखाउनुभएको छ। यी गुणहरूले तपाईंहरूलाई भविष्यमा आइपर्ने जुनसुकै अवस्थाबाट पनि मार्गदर्शन गर्नेछन्।

एक भौतिकशास्त्रीका रूपमा मैले मेरो जीवनको ठूलो हिस्सा ब्रह्माण्डका रहस्यहरू बुझ्नमा बिताएको छु। भौतिकशास्त्रीय अनुसन्धानले हामीलाई के सिकाउँछ भने प्रत्येक प्रक्रिया समय लिन्छ, र प्रगति प्रायः ठूलो उपलब्धि नआएसम्म अदृश्य रहन्छ। जीवनमा सफलता पनि यस्तै हुन्छ। यसका लागि बलियो इच्छाशक्ति, निरन्तर प्रयास र परिणाम तुरुन्तै नदेखिँदा पनि तपाईंको काम कुनै अर्थपूर्ण दिशातर्फ अघि बढिरहेको छ भन्ने विश्वास आवश्यक पर्छ।

म मेरो व्यक्तिगत अनुभव तपाईंहरूसँग बाँड्न चाहन्छु। म स्नातकोत्तर विद्यार्थी हुँदा जापानको पहाडी क्षेत्रमा भूमिगत रूपमा स्थापना गरिएको ‘कामियोकाण्डे’ नामक प्रयोगशालामा काम गर्थें। त्यसबेला म प्रोटोन क्षय हुन्छ कि हुँदैन भन्ने विषयमा अध्ययन गरिरहेको थिएँ, जुन त्यतिबेला अत्यन्तै महत्त्वपूर्ण विषय मानिन्थ्यो। प्रोटोन क्षय अवलोकन गर्न नसके पनि, यही अनुसन्धानका आधारमा मैले सन् १९८६ को मार्चमा पीएचडी प्राप्त गरेँ।

तपाईंहरूले पनि यस्ता क्षणहरू सामना गर्नुहुनेछ, जहाँ कुनै स्पष्ट उत्तर हुँदैन। तपाईंहरूले यस्ता निर्णय लिनुपर्नेछ, जहाँ अर्थपूर्ण बाटो सुरक्षित बाटो नहुन सक्छ। यस्ता अवस्थामा म तपाईंहरूलाई जिज्ञासा र साहस अँगाल्न आग्रह गर्दछु।

पीएचडी प्राप्त गरेपछि पनि मैले यो अध्ययन जारी राखेँ। सन् १९८६ को अन्त्यतिर, मैले कामियोकाण्डे डिटेक्टरमा देखिएका प्रोटोन क्षयका पृष्ठभूमि घटनाहरू, विशेष गरी न्यूट्रिनो अन्तरक्रियाहरू, सैद्धान्तिक अपेक्षासँग मेल नखाने कुरा महसुस गरेँ। सुरुमा मलाई लाग्यो, मैले विश्लेषणमा गम्भीर त्रुटि गरेको छु, र त्यो कहाँ भयो भन्ने पत्ता लगाउनैपर्छ भन्ने लाग्यो। यहीँबाट मेरो न्यूट्रिनोसम्बन्धी अनुसन्धान सुरु भयो।

सन् १९८८ मा जब हामीले यस विषयमा शोधपत्र लेख्यौं, त्यतिबेला कामियोकाण्डेका न्यूट्रिनो तथ्याङ्कलाई समर्थन गर्ने अर्को कुनै पनि प्रयोग थिएन। एक वरिष्ठ सहकर्मीले मलाई अझ उपयोगी र महत्त्वपूर्ण विषयमा लाग्न सुझाव दिनुभयो। तर सफलताको निश्चितता नभए पनि, यो विषय आफैं अध्ययनयोग्य र अर्थपूर्ण छ भन्ने विश्वासका कारण मैले यसैमा काम जारी राखेँ।

त्यसको करिब दस वर्षपछि, सन् १९९८ मा, सुपर-कामियोकाण्डे प्रयोगका तथ्याङ्क प्रयोग गरेर हामीले न्यूट्रिनो समस्याको कारण ‘न्यूट्रिनो अक्सिलेसन’ हो भन्ने कुरा पत्ता लगायौं। यसको अर्थ न्यूट्रिनोमा अत्यन्त सानो भए पनि द्रव्यमान हुन्छ। कण भौतिकशास्त्रको अत्यन्त सफल मानक मोडेलले न्यूट्रिनोको द्रव्यमान शून्य मान्दै आएको थियो। त्यसैले न्यूट्रिनो दोलनको खोजले मानक मोडेलभन्दा बाहिरको भौतिकशास्त्र अध्ययन गर्ने नयाँ ढोका खोलेको छ।

वैज्ञानिक खोज, व्यक्तिगत विकासजस्तै, रेखीय हुँदैन। यसमा धेरै बन्द गल्लीहरू, अप्रत्याशित मोडहरू हुन्छन्। अनि कहिलेकाहीँ अचानक ठूलो उपलब्धि प्राप्त हुन्छ। तर यस्ता उपलब्धिहरू हजारौं घण्टाको अदृश्य प्रयासको परिणाम हुन्।

म यो कथा आफ्नै प्रशंसाका लागि होइन, एउटा सन्देश दिनका लागि सुनाउँदैछु। तपाईंहरूले पनि यस्ता क्षणहरू सामना गर्नुहुनेछ, जहाँ कुनै स्पष्ट उत्तर हुँदैन। तपाईंहरूले यस्ता निर्णय लिनुपर्नेछ, जहाँ अर्थपूर्ण बाटो सुरक्षित बाटो नहुन सक्छ। यस्ता अवस्थामा म तपाईंहरूलाई जिज्ञासा र साहस अँगाल्न आग्रह गर्दछु।

संसारलाई कठिन प्रश्न सोध्न नडराउने, नवीन सोच राख्ने, कल्पना गर्ने र निर्माण गर्ने मानिसहरूको आवश्यकता छ। तपाईंहरूले आफैंलाई सोध्न सक्नुहुन्छ-मेरो भूमिका के हो? म के फरक पार्न सक्छु? यसको उत्तर म एउटा सरल विचारमार्फत दिन चाहन्छु: भविष्य सबैभन्दा बलियाहरूले होइन, निरन्तर प्रयास गर्न तयार रहनेहरूले निर्माण गर्छन्।

तपाईंहरू शिक्षक, वैज्ञानिक, इन्जिनियर, नीति निर्माता वा समुदायका नेता जो भए पनि, तपाईंहरूको योगदान महत्त्वपूर्ण हुन्छ। समाज केही असाधारण व्यक्तिहरूका कारण मात्र होइन, धेरै मानिसहरूले निराशाभन्दा दृढता र उदासीनताभन्दा उत्तरदायित्व रोज्दा अघि बढ्छ।

अन्त्यमा, म तपाईंहरूलाई तीन गुण विकास गर्न आग्रह गर्न चाहन्छु।

पहिलो, उद्देश्यबोध। उद्देश्यले तपाईंका निर्णयहरूलाई दिशा दिन्छ। उद्देश्यबिना सफलता खोक्रो लाग्न सक्छ र चुनौतीहरू भारी महसुस हुन सक्छन्। उद्देश्यले अवरोधको सामना गर्दा शक्ति दिन्छ।

दोस्रो, लचिलोपन। जीवन सधैं योजनाअनुसार चल्दैन। योजनाहरू बदलिन्छन्। कहिलेकाहीँ तपाईंको सबैभन्दा राम्रो प्रयासले पनि तुरुन्तै सफलता ल्याउँदैन। लडेर फेरि उठ्ने क्षमता तपाईंले विकास गर्न सक्ने सबैभन्दा ठूलो सीपहरूमध्ये एक हो।

तेस्रो, करुणा र विनम्रता। कोही पनि एक्लैले सफल हुँदैन। तपाईंलाई मार्गदर्शन गर्ने शिक्षकहरू, साथ दिने परिवार र साथमा उभिने साथीहरूप्रति कृतज्ञ रहनुहोस्। तपाईं जीवन र काममा सफल हुँदै जाँदा अरूलाई पनि सँगै उकास्नुहोस्।

अन्त्यमा यति भन्न चाहन्छु, तपाईंहरू सम्भावनाले भरिएको यात्राको सुरुवातमा उभिनुभएको छ। चुनौतीहरू अवश्य आउनेछन्, तर असाधारण अवसरहरू पनि आउनेछन्। तपाईंहरूमा सपना देख्ने, कदम चाल्ने र आफ्ना विचारलाई यथार्थमा रूपान्तरण गर्ने क्षमता छ। बाटो सजिलो हुन्छ भनेर होइन, तपाईंहरूमा त्यो बाटो हिँड्ने शक्ति छ भन्ने विश्वासका साथ आत्मविश्वासका साथ अघि बढ्नुहोस्।

बधाई छ, स्नातक विद्यार्थीहरू। तपाईंहरूको जिज्ञासाले मार्ग देखाओस्, दृढताले तपाईंलाई थामिरहोस्, र तपाईंहरूको योगदानले नेपाल र संसारका लागि अझ उज्यालो भविष्य निर्माण गरोस्।

धन्यवाद र फेरि एकपटक, हार्दिक बधाई।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *