`

नयाँ उदाएका शक्तिहरुमा जेलेन्स्की प्रवृति : कमल थापा

Nepal One HD १६ पुष २०८२ १६:२१
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकता भएको छ । बुधवार काठमाडौँमा एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । एकता सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई वषौँपछि घर फर्किएको अनुभूति भइरहेको बताए । उनले २०७८ सालको ऐतिहासिक महाधिवेशनपछि विभिन्न कारणले पार्टीबाट एक्लै अलग्गिएको भए पनि देशभरको संगठनसहति घर फर्किएको जिकिर गरे । उनले आफूमाथि लाग्दै आएको गीताको कसम खाएर पनि पार्टी फुटाएको तथा महाधिवेशन हारेर भागेको भनेर लाग्ने गरेको आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको दाबी गरे । उनले यो एकतामा आफ्नो कुनै स्वार्थ नरहेको जिकिर गरे ।

उनले भने, ‘मलाई आज घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना बगाएर खडा गरेको घरमा फर्कदाखेरि जुन किसिमको अनुभूति हुन्छ अहिले मलाई त्यही भइरहेको छ । वास्तवमा २०७८ साल माघको अन्तिम साता अत्यन्तै भारी मनले मैले राष्ट्रिय प्रजातन्त्र पार्टी (घर) छोडेर गएको थिएँ खुशीले होइन । मन रोईरोई एक्लै अलग भएको थिएँ । त्यसपछि मान्छेहरूले गीताको कसम खाएको मान्छेले पार्टी फुटायो भनेर आरोप पनि लगाएँ । हारेर भाग्यो पनि भने तर यी सबै आरोपहरूमा कुनै सत्यता छैन । एउटा खेलाडी पनि भएको नाताले हारलाई सहर्ष स्वीकार गर्ने चरित्र ममा छ । विभिन्न कारणले घर छोडेर गएँ । गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप निकारण होला पनि भन्ने ठानेको छु । यद्यपि त्यसमा सत्यता थिएन ।’

उनले गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप असत्य आरोपहरू निराकरण भइसकेको आफ्नो विश्वास रहेको पनि बताए । उनले इतिहासलाई उपेक्षा गर्न नहुने भन्दै सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए । २०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छोडेका थिए । चार वर्षपछि दुवै पार्टीबीच एकता सहमति जुटेपछि थापा पुनः मूल राप्रपामा फर्किएका हुन् ।

उनले राजनीतिक दलहरूको अकर्मण्यताका कारण मुलुक आज समस्या नै समस्याको दलदलमा फसेको आरोप पनि लगाए । थापाले नयाँ उदाएका शक्तिहरूमा युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की प्रवृत्ति देखिरहेको बताएका छन् । थापाले जेलेन्स्की प्रवृत्तिबाट बच्नुपर्ने बताएका छन् । ‘अहिलेसम्मका घटना क्रम हेर्ने हो भने नयाँ उदयमान शक्तिहरूमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको प्रवृत्ति देखिरहेको छु,’ थापाले भने, ‘चर्काचर्का नारा दिएर लोप्रियता हासिल गर्ने, त्यसकै आधारमा जनमत लिने र अनि मुलुकलाई बर्बाद पार्ने जेलेन्स्की प्रवृत्ति देखिएको छ ।’

कला क्षेत्रबाट उदाएका युक्रेनी राष्ट्रपति जेलेन्स्की हाँस्य कलाकार हुन् । उनी हाँस्य कलाबाट लोकप्रिय हुँदै राजनीतिमा आएका थिए । उनी राष्ट्रपति भएपछि युक्रेनले रूससँग युद्ध खेपिरहेको छ । थापाले त्यसैलाई इंगित गर्दै अहिलेका नयाँ शक्तिहरूबाट सचेत रहन आग्रह गरेका हुन् । रास्वपा सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र रास्वपाको उपसभापति कुलमान घिसिङले सच्चिनु पर्ने उनको भनाइ थियो । उनीहरू विचारविहीन भएको थापाको टिप्पणी थियो ।

‘कुनै वैचारिक धरातल छैन, कुनै एजेण्डा छैन,’ थापाले भने, ‘रवि, बालेन, कुलमानभन्दा ओली, देउवा र प्रचण्ड कम क्रान्तिकारी थिएनन् । तर, अवधारण, संरचनागत र नीतिगत परिवर्तन नगर्ने हो भने ओली, देउवा र प्रचण्डलाई यो अवस्थामा आउन २० वर्ष लाग्यो, नयाँ प्रवृत्तिलाई पाँच वर्ष पनि लाग्दैन ।’ जेनजी आन्दोलनको एजेण्डा अपरहण गरिएको उनको आरोप थियो । जेनजी आन्दोलन एकाएक नआएको उनको जिकिर थियो । ‘हामीले तयार गरेको जनचेतना र जनजागरणको जगमा जेनजी आन्दोलन भएको हो । तर सकिन पाउँदा नपाउँदै मध्य रातमा देशी विदेशी शक्तिले आन्दोलनले मुखरित गरेको एजेण्डलाई अपरहण गरे,’ थापाले भने, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकलाई जोगाइयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *