`

समानुपातिक सूची बुझाएका दलको चुनाव चिह्न मात्रै मतपत्रमा

Nepal One HD १८ पुष २०८२ १६:३३
निर्वाचन विषेश

काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ । विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यस पटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ९३ वटा चुनाव चिह्नमा १०० दलले चुनाव लड्ने भनेर दल दर्ता गरेका थिए । समानुपातिकतर्फको बन्दसूची बुझाउँदा यो संख्या घटेको छ । ६४ दलले ५८ वटा चुनाव चिह्नमा निर्वाचन लड्ने गरी सूची निर्वाचन आयोगका पेश गरेका छन् । १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने गरी समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । यसरी यस पटक समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न हुनेछ । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची सच्याउन एक साता समय पाउने भएका छन् । आयोगले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘कलस्टर नमिलेको अवस्थामा आयोगले यही पुस २० गतेसम्म सम्बन्धित दलहरूलाई सूचित गरिसक्छ । त्यसपछि सम्बन्धित दलको तर्फबाट यही पुसको २१ गतेदेखि २७ गतेसम्म आयोगले बताएअनुसार संशोधन गरेर पेस गर्ने कार्यक्रम हुनेछ ।’ दलहरूले यही पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए । त्यसउपर आयोगले छानबिन गरिरहेको छ । यही पुस २० गतेसम्म आयोगले कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे–नरहेको अध्ययन गर्नेछ । अध्ययन पश्चात २० गते नै दलहरूलाई के के मिलेको छैन भनेर पत्राचार गर्ने तालिका छ ।

आयोगले कलस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गरेपछि सम्बन्धित दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न समय पाउने छन् । उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ । त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ ।

यसका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ । माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ । आयोगको तालिका अनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ । फागुन २१ गते मतदान हुनेछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *