`

यस पटक पनि कार्यान्वयन भएन अन्तर जिल्ला मतदान

Nepal One HD २५ पुष २०८२ १७:०६
निर्वाचन विषेश

काठमाडौं । प्रतिनिधि सभाको आउँदो निर्वाचनमा पनि जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले कानुनी तथा प्राविधिक पूर्व तयारी पूरा हुन नसकेकाले यस पटक अन्तरजिल्ला मतदानको व्यवस्था गर्न नसकिएको स्पष्ट पारेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन तयारीबारे जानकारी दिँदै प्रवक्ता नारायणप्रसाद भट्टराईले तयारी कार्य तीव्र गतिमा अघि बढिरहेको बताए । उनले अन्तरजिल्ला मतदानको विषय लामो समयदेखि उठ्दै आए पनि आवश्यक आधार नबनेका कारण यस निर्वाचनमा लागू गर्न नसकिएको जानकारी दिए । ‘कानुनी र प्राविधिक तयारी बिना अन्तरजिल्ला मतदान सम्भव भएन’, प्रवक्ता भट्टराईले भने ।

यसैगरी, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने माग भए पनि यस पटक त्यो सम्भव नभएको आयोगले जनाएको छ । आयोगका अनुसार यस निर्वाचनका लागि सीमित समूहलाई मात्रै समेटेर अस्थायी मतदाता नामावली संकलन गरिएको छ । निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कारागारमा रहेका कैदीबन्दी तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक मात्रै अस्थायी मतदाता सूचीमा समावेश छन् । ती बाहेक अन्य मतदाताले आफ्नो स्थायी जिल्लाबाहिरबाट मतदान गर्न पाउने छैनन् ।

निर्वाचनको सुरक्षा व्यवस्थाबारे उठेका प्रश्नको जवाफ दिँदै प्रवक्ता भट्टराईले मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने अवस्था रहेको बताए । जिल्ला तहमा एकीकृत सुरक्षा योजना बनाएर काम भइरहेको उल्लेख गर्दै उनले सुरक्षाको कारणले निर्वाचनमा सहभागी हुन डराउनुपर्ने अवस्था नरहेको दाबी गरे । ‘सुरक्षा निकायको नेतृत्व, सम्बन्धित मन्त्रालयको समन्वय र आयोगको सहजीकरणमा भरपर्दो तथा विश्वसनीय सुरक्षा व्यवस्था मिलाइँदैछ’, उनले भने ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्ने विषयमा पनि आयोग सक्रिय रहेको जनाएको छ । प्रवक्ता भट्टराईका अनुसार आयोगले मेटा र टिकटक जस्ता सामाजिक सञ्जाल कम्पनीहरूसँग सम्पर्क गरेको छ र ती कम्पनीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । आयोग निरन्तर समन्वयमा रहेको उनको भनाइ थियो । उम्मेदवारी फिर्ताको विषयमा हालसम्म आधिकारिक जानकारी नआएको भन्दै उनले उम्मेदवारी फिर्ता लिने अन्तिम मिति पुस २८ गते तोकिएको स्मरण गराए। सामाजिक सञ्जालमा उम्मेदवारी फिर्ताको घोषणा भए पनि तोकिएको मितिमा औपचारिक निवेदन नदिएसम्म त्यसलाई मान्यता नदिइने उनले स्पष्ट पारे । आयोगले आगामी फागुन २१ गते हुने निर्वाचन निर्धारित समयमै सम्पन्न गराउने प्रतिबद्धता दोहो¥याउँदै मतदातालाई निडर भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । साथै, बदर मत घटाउन आवश्यक रणनीति तय गरी कार्यान्वयनमा लगिने तयारी भइरहेको जानकारी पनि आयोगले दिएको छ ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *