चुनाव नहुँदै भावी प्रधानमन्त्रीको दौड सुरु, गगन–बालेन प्रधानमन्त्रीका नयाँ ‘फेस कार्ड’
काठमाडौँ। संसदीय व्यवस्थामा राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ। जनमत आकर्षण गर्ने उद्देश्यले अपनाइने यो शैली यसपटक पनि दोहोरिएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दलहरूले प्रधानमन्त्रीका सम्भावित अनुहारहरू क्रमशः अघि सारिरहेका छन्। यसले निर्वाचनपछि सरकार गठनको अवस्थामा कुन दलले कसलाई प्रधानमन्त्रीमा अघि सार्छ भन्ने प्रारम्भिक संकेत दिएको छ।
यसपटक आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ। निर्वाचनपछि सरकार गठन गर्ने अवस्था आए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्री बनाउने भएकाे छ । काठमाडौं महानगरपालिकाका प्रमुख रहेका साह स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भए पनि हाल रास्वपाका वरिष्ठ नेताका रूपमा छन्। रास्वपामा आबद्ध हुने क्रममा नै उनले पार्टी सभापति रवि लामिछानेसँग भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने समझदारी गरेका थिए।
स्थानीय तहको प्रमुखबाट सिधै देशको प्रधानमन्त्री बन्ने आकांक्षा सार्वजनिक रूपमा अघि सारेका बालेन काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिने तयारीसहित चुनावी माहोल बनाउन मधेसदेखि पूर्वी तराईसम्म सक्रिय भइरहेका छन्।
यदि आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी निर्वाचित भए र रास्वपाले संसदबाट सरकार गठन गर्ने अवस्था बन्यो भने बालेन प्रधानमन्त्रीका उम्मेदवार हुनेछन्। तर निर्वाचनमा पराजित भए उनको प्रधानमन्त्री बन्ने सपना आगामी पाँच वर्षका लागि समाप्त हुनेछ।
जे होस्, बालेन यसपटक प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारिएका युवा र नयाँ अनुहार हुन्। रास्वपाले उनलाई चुनावी ‘फेस कार्ड’का रूपमा प्रयोग गर्ने रणनीति लिएको देखिन्छ।
यद्यपि, उनी जेन–जी विद्रोहपछि सर्वाधिक आलोचित पात्रमध्येमा पर्छन्। सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन शीतलनिवास, सर्वोच्च अदालतलगायत सार्वजनिक संरचनामाथि आगजनीको योजनामा संलग्न भएको आरोप लगाउँदै आलोचकहरूले उनलाई विवादास्पद पात्रका रूपमा चित्रण गर्दै आएका छन्।
प्रधानमन्त्रीको अर्को नयाँ अनुहारका रूपमा गगन थापा देखिएका छन्। नेपाली कांग्रेसकाे आफू नेतृत्वको समूहले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।
समकालीन कांग्रेस राजनीतिज्ञहरूमध्ये सर्वाधिक लोकप्रिय मानिने थापा पूर्वस्वास्थ्यमन्त्री हुन्। स्वास्थ्यमन्त्री हुँदा उनले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि नीतिगत संरचना निर्माणको थालनी गरेका थिए। छोटो कार्यकाल भए पनि स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारको आधार तयार गरेको मूल्यांकन गरिन्छ।
थापा नेपालको गणतान्त्रिक आन्दोलनका ‘पोस्टर ब्वाइ’का रूपमा पनि चिनिन्छन्। गणतन्त्र स्थापनाका आन्दोलनका क्रममा उनको टाउको फुटेको थियो भने पटक–पटक राजद्रोहका मुद्दा खेप्नुपरेको थियो।
कांग्रेसलाई गणतन्त्रको मार्गचित्रमा लैजान महत्वपूर्ण भूमिका खेलेका थापा कांग्रेसभित्र गणतन्त्रका प्रवक्ताका रूपमा पनि चिनिन्थे। उनै थापा अहिले आफू नेतृत्वको नेपाली कांग्रेसबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका छन्।
अन्य प्रमुख दलहरूमा भने नयाँ अनुहार अघि सार्ने संकेत देखिएको छैन। नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली नै भावी प्रधानमन्त्रीका प्रमुख दाबेदार रहने देखिन्छ। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको अर्को धारले देउवाकै नाम अघि सार्न सक्ने सम्भावना छ। यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै भावी प्रधानमन्त्रीका उम्मेदवार बन्ने देखिन्छ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यक्ष उपेन्द्र यादवलाई नै भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको राजनीतिक स्रोतहरूले बताएका छन्।
यसरी आगामी निर्वाचनमा दलहरू पुरानै अनुहार र केही नयाँ पात्रलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै जनमत आफ्नो पक्षमा पार्ने रणनीतिमा देखिएका छन्।
