भक्तपुर-२ को चुनावी महाभिडन्त : बस्नेतदेखि थापामगरसम्म, कोही छैनन् कम
काठमाडौं । २१ फागुनको निर्वाचनमा पाँच जना युवा उम्मेदवारको चुनावी प्रतिष्पर्धाको चर्चाले भक्तपुर-२ काठमाडौँ उपत्यकामा चर्चाको केन्द्र बनेको छ। यो क्षेत्रमा नेकपा एमालेले पार्टी सचिव महेश बस्नेतलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ। यही क्षेत्रमा रास्वपाका नेता राजीव खत्री चुनाव लड्ने भएसँगै भक्तपुर-२ को चुनावी चर्चा अझै चुलिन थालेको हो । खत्री पत्रकारिता पृष्ठभूमीबाट भर्खरै राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन्। सामाजिक संजालमा बस्नेत र खत्रीका बीच भइरहने वाकयुद्धका कारण पनि यी दुई उम्मेदवारबीचको चुनावी प्रतिष्पर्धा अझै रोचक हुने देखिएको छ । खत्रीले बस्नेतलाई गुण्डा भनेर चित्रित गर्दै आएका छन् भने बस्नेतले खत्रीलाई पत्रुकार भन्ने गरेका छन्।
यता, नेपाली कम्युनिष्ट पार्टी नेकपाले भक्तपुर-२ मा योङ कम्युनिष्ट लिग (वाइसिएल) का इञ्चार्ज दिपशिखालाई अघि सारेको छ। गणतन्त्र स्थापना भएपछी देश शान्ति प्रक्रियामा प्रवेश गरेको थियो। त्यसपछि तत्कालिन विद्रोही माओवादीले युवाहरु सम्मिलित हुनेगरी जनसंगठन घोषणा गर्यो- वाइसिएल। जसले युवाहरुलाई संगठित गर्दै पार्टीका लागि काम गर्थ्यो।
अझै रोचक के भने माओवादीले वाइसिएल गठन गरेपछि त्यसलाई काउन्टर दिने गरी एमालेले पनि जनसंगठन बनायो- युथ फोर्स। वाइसिएललाई तह लगाउने भन्दै गठन गरिएको युथ फोर्सका संस्थापक अध्यक्ष बने-महेश बस्नेत। पछि युथ फोर्सको राजनीतिबाट बस्नेत राष्ट्रिय युवा संघको अध्यक्ष बन्दै इञ्चार्ज समेत बने । वाइसिएलको राजनीति मार्फत स्थापित दीपशिखा र युथ फोर्सको राजनीतिमार्फत राष्ट्रिय राजनीतिमा आफ्नो बेग्लै छवि निर्माण गरेका बस्नेत एउतै निर्वाचन क्षेत्रबाट चुनाव लड्दै छन्। माओवादी स्कुलिङबाट राजनीति सुरु गर्दै वाइसिएलको इन्चार्ज बनेका दिपशिखा र एमाले स्कुलिङबाट युथ फोर्सको अध्यक्ष र राष्ट्रिय युवा संघको अध्यक्ष हुदै इञ्चार्ज बनेका महेश बस्नेतबिचको चुनावी लडाई पनि यो निर्वाचनको हेर्न लायक प्रतिष्पर्धा हो।
पुर्व सांसद तथा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रभावशाली युवा नेता सन्तोष परियार पनि यही क्षेत्रबाट चुनाव लड्ने चर्चा छ। परियार को युवा वृत्तमा आफ्नै छुट्टै पहिचान छ। राजनैतिक वृत्तमा परियार बौद्धिक नेता मानिन्छन्। अघिल्लोपटक ०७९ मा रास्वपाबाट संसदको यात्रा तय गरेका परियार पनि यसपालीको आमनिर्वाचनमा भक्तपुर-२ बाट जित निकाल्ने रणनीतिमा रहनेछन्।
त्यस्तै, त्यो क्षेत्रमा नेपाली कांग्रेसले पत्रकार कविर राणालाई उम्मेदवार बनाउने भएको छ। राणा लामो समय पत्रकारिता गर्दै राजनीतिमा प्रवेश गरेका नेता हुन्। उनलाई नेपाली कांग्रेसले उक्त क्षेत्रमा प्रतिनिधीसभा निर्वाचनको उम्मेदवारको रुपमा सिफारिस गरेको छ। राणालाई एक रणनैतिक व्यक्तिका रुपमा हेरिन्छ। राणा पनि भक्तपुर-२ बाट आम निर्वाचनमा जित निकाल्दै कांग्रेसको लगातारको उपस्थिति कायम राख्ने रणनीतिमा रहनेछन्।
यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पनि राम्रै प्रभाव रहेको बताइन्छ। गएको ०७९ को निर्वाचनमा त्यो क्षेत्रबाट नेमकिपाका उम्मेदवार अनुराधा थापा मगरले ७,१२७ मत ल्याएकी थिइन्। यसपाली पनि नेमकिपाले थापा मगरलाई भक्तपुर-२ मा उम्मेदवार बनाउने चर्चा छ। रोचक तथ्य के भने यी पाँचै जनाको उमेर ५० वर्षभन्दा मुनी छ। अझ राजनैतिक वृत्तमा यी पाँच जनाकै छवि भिन्न भिन्न खाले छ। बस्नेत र दिपशिखालाई सांगठनिक जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्न सक्ने नेताका रुपमा हेरिन्छ भने परियार राजनैतिक वृत्तमा अध्ययनशील, सालिन र बौद्धिक नेताको रुपमा स्थापित छन्। यता, खत्रीले करीब डेढ दशक पत्रकारितामा बिताएका छन्। थापामगर भने भक्तपुर-२ का मतदातामाझ स्थानिय उधमीका रुपमा परिचित छिन्। ५० वर्ष मुनीका यी पाँच उम्मेदवारको चुनावी मैदानको प्रतिष्पर्धाले भक्तपुर-२ देशैभरबाट चुनावी चर्चा हुने क्षेत्र मध्येको एक हुने निश्चित जस्तै देखिन्छ।
यस्तो छ भक्तपुर-२ को चुनावी इतिहास
२०४८ यताका सातवटा संसदीय निर्वाचनमा भक्तपुर-२ का मतदाताले नेता हेरेर नेतृत्व चयन गरेको देखिन्छ। २०४८ यता संसदमा पठाउने नेता परिवर्तनको दृष्टिकोणले भक्तपुर-२ का जनता सचेत भएको तथ्यले नै पुष्टि गर्दछ। त्यहाँबाट अहिलेसम्म कुनै पनि नेता निरन्तर संसदीय यात्रामा रहेको देखिदैन। प्रजातन्त्रको पुन:बहाली भएपछी भएको २०४८ सालको निर्वाचनमा भक्तपुर-२ बाट नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्यले जित हासिल गरे। उनले नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भैरव रिजाललाई १३०० मतले पराजित गरेका थिए। ०४८ को आम निर्वाचनमा भक्तपुर-२ मा आचार्य १६,०५२ मतसहित विजयी हुँदा रिजालले १४,७५२ मत प्राप्त गरेका छन्।
२०५१ सालको मध्यावधी निर्वाचन सम्म आइपुग्दा त्यो क्षेत्रमा नेमकिपाले पासा पल्टाएको देखिन्छ। ०५१ सालको निर्वाचनमा नेमकिपाका उम्मेदवार आशाकाजी बसुकलाले १३,५८१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गणेश बहादुर खत्रीले ११, ९०६ मत ल्याएका थिए। तर २०५६ सालको आमनिर्वाचनमा लेखनाथ न्यौपानेले १४,२०० मतसहित जित्दै नेपाली काङ्ग्रेसलाई भक्तपुर-२ मा पुनरागमन गराउन सफल रहे। त्यतिबेला उनका निकटम प्रतिद्वन्दी नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिले १३,४३२ मत ल्याए।
२०६४ को पहिलो संविधानसभा निर्वाचन भने भक्तपुर-२ को चुनावी परिणामको पासा पल्टाउदै नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिले संसदमा आफ्नो स्थान सुरक्षित गरे। ०६४ मा उनले १८, १०० मत ल्याउदै नेपाली कांग्रेसका उम्मेदवार लेखनाथ न्यौपानेलाई ४ हजार ८ सय ३५ को मतान्तरले पराजित गरेका थिए।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा त्यो क्षेत्रबाट नेपाली काङ्ग्रेसका रामेश्वरप्रसाद ढुङ्गेलले चुनाव जिते। उनले त्यतिबेला नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिलाई ३,७१० मतको मतान्तर सहित २१,१२१ मत ल्याएर पराजित गरेका थिए। त्यो बेला एमाले उम्मेदवार महेश बस्नेत १६,०२९ मतसहित तेस्रो नम्बरमा सिमित रहे।
संविधानको घोषणा पछि २०७४ मा देशमा पहिलोपल्ट प्रतिनिधीसभा निर्वाचन भयो। उक्त निर्वाचनमा अघिल्लोपटक तेस्रो नम्बरमा रहेका एमाले उम्मेदवार महेश बस्नेत भक्तपुर-२ मा करीब दोब्बर मतान्तरसहित विजयी भए। त्यतिबेला बस्नेतले ३६,४१२ मत ल्याउदा निकटतम प्रतिद्वन्दी दमननाथ ढुङ्गानाले १८,६८७ मत मात्रै ल्याए। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर-२ मा फेरी पासा पल्टियो- नेपाली काङ्ग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री विजयी बने। अघिल्लोपटक दोब्बर मतान्तर सहित चुनाव जितेका बस्नेत ०७९ को निर्वाचनमा भने थापा क्षेत्रीसँग ९ सय ५७ मतको मतान्तरले पराजित हुन पुगे। त्यतिबेला थापाले त्यो क्षेत्रमा २४,२३९ मत ल्याँउदा बस्नेतले २३,२८२ मत ल्याएका थिए।
