`

गगन झरेसँगै तातियो मधेशमा चुनावी सरगर्मी, अमरेशसँग सर्लाही-४ मा भिड्ने

रामचन्द्र जोशी ६ माघ २०८२ १३:२१
निर्वाचन विषेश

काठमाडाैं । यस पटकको निर्वाचनमा मधेशमा विगतको भन्दा छुट्टै चहलपहल छ । यसअघिका चुनावमा मधेशमा उपेन्द्र यादव, राजेन्द्र महतो, महन्त ठाकुरहरुले चुनावी माहोल तताउने गर्थे।  तर मधेशमा उनीहरुको प्रभाव कमजोर बनेसँगै राष्ट्रिय राजनीतिमा मधेसको उपस्थिति कमजोर जस्तो देखिएको छ। यस्तैमा, नेपाली कांग्रेसका नव निर्वाचित सभापति गगन कुमार थापा आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।  थापाको उम्मेदवारी घोषणासँगै सर्लाही–४ मात्र नभई समग्र मधेश प्रदेशको राजनीतिक तापक्रम एकाएक बढेको छ।

लामो समयदेखि काठमाडौं–४ लाई निर्वाचन क्षेत्र बनाउँदै आएका थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै मधेश प्रदेशको सर्लाही–४ रोजेका हुन्। थापाले काठमाडौँ-४ बाट ०७० को संविधान सभा निर्वाचन, ०७४ को प्रतिनिधि सभा निर्वाचन, ०७९ को प्रतिनिधिसभा निर्वाचनमा लगातार तीनपटक चुनाव जितेका थिए। उनले तीनवटै पल्ट नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका हुन्।  शहरी मतदातामाझ बलियो पकड बनाएका थापाको निर्वाचन क्षेत्र परिवर्तनको निर्णयलाई कांग्रेसभित्र र बाहिर दुवै ठाउँमा चासोका साथ हेरिएको छ । राजनैतिक वृत्तमा पार्टी भित्रको आन्तरिक कलह र पछिल्लो समय पार्टीमा भएको विभाजनले थापा काठमाडौँ-४ मा कमजोर बनेको विश्लेषण पनि हुने गर्दछ। 

गएको आम निर्वाचनबाटै देशैभरका शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पकड बलियो बनाउदै लगेको छ । भनिन्छ- थापा ०७९ को निर्वाचनमै काठमाडौँ-४ छोड्न चाहन्थे । तर अन्तिम समयमा रास्वपाले काठमाडौँ-४ मा उम्मेदवार नउठाउने निर्णय गरेपछि थापा त्यही क्षेत्रबाट चुनाव लडेका थिए। यो पटक रास्वपाले काठमाडौँ-४ बाट पुकार बमलाई उम्मेदवार तय गरेको छ। बम गएको चुनावमा काठमाडौँ-१ मा प्रकाशमान सिंहसँग पराजित भएका उम्मेदवार हुन्।

एकथरी विचार अनुसार थापा संगठन पुन:जागरण का लागि मधेश झरेको चर्चा पनि भइरहेको छ। गणतन्त्रको घोषणापछि मधेसमा कांग्रेसको उपस्थित अपेक्षित रुपमा कमजोर रहदै आएको छ।  पार्टी नेतृत्वका अनुसार संगठन विस्तार, क्षेत्रीय सन्तुलन र मधेशमा पार्टीको उपस्थितिलाई थप बलियो बनाउने रणनीतिअन्तर्गत थापाले सर्लाही–४ बाट उम्मेदवारी दिने निर्णय गरेका हुन् । थापाको उम्मेदवारी घोषणासँगै सर्लाही–४ मात्र नभई समग्र मधेश प्रदेशको राजनीतिक तापक्रम बढेको छ।

यो क्षेत्रमा राष्ट्रिय स्तन्त्र पार्टीले अमरेश कुमार सिंहलाई उम्मेदवार बनाएको छ।  सिंह पनि मधेसको राजनीतिमा बलियो प्रभाव राख्ने नेताका रुपमा परिचित छन्।  गएको प्रतिनिधिसभा निर्वाचनमा सिंह यही निर्वाचन क्षेत्रबाट निर्वाचित बनेका थिए। उनले त्यतिबेला कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए भने गगनले टिकट रोकेको आरोप पनि लगाएका थिए। कांग्रेसका पुराना नेता सिंह र वर्तमान कांग्रेस सभापति बिचको यो भिडन्त पनि हेर्नलायक हुनेछ। यो क्षेत्रमा नेकपा एमालेले रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीले डा. रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *