जनभावनालाई प्राथमिकता दिएर काम गर्न कार्यवाहक महानगर प्रमुख डङ्गोलको निर्देशन
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले असल अभ्यासलाई निरन्तरता दिन र जनभावनालाई प्राथमिकता दिएर काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
कार्यवाहक प्रमुखको जिम्मेवारी पाएपछि आज पहिलो पटक विभागीय प्रमुखसँगको बैठकमा उहाँले सुशासन, नागरिक अपेक्षा, असल तथा सफल अभ्यासको निरन्तरताका लागि सबैको एकैठाउँमा उभिनुपर्ने बताउनुभएको हो ।
कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो,“यसका लागि आन्तरिक तथा बाह्य सम्बन्ध समुधर बनाउँदै, पारदर्शिता, इमान्दारिता र जनभावनाप्रति उत्तरदायी भएर फराकिलो दृष्टिकोण राखेर काम गर्नुहोला । नागरिकले महसुस गरेका सुविधा र सहजतामा ध्यान दिनुहोला ।”
उहाँले समन्वय, सहकार्य र साझेदारीतालाई सुदृढ बनाउँदै पुँजीगत खर्च गर्ने क्षमता बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यवाहक प्रमुख डङ्गोलले चालु आर्थिक वर्षका लागि योजनाअनुरुप काम सम्पन्न गर्न निरन्तर विभागीय तथा क्षेत्रगत उपलब्धिका विषयमा जानकारी लिने र नतिजा वृद्धि गर्ने एजेन्डामा छलफल गरिने जानकारी गराउनुभयो ।
आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलगायत विभागीय प्रमुखहरूको उपस्थित रहेको थियो ।
