रास्वपाका उपत्यकाका उम्मेदवारसँग बालेन शाहको छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता शाहले आइतबार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका हुन् ।
नेता शाहले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरुले बताए । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार समेत रहेकी नेतृ तोषिमा कार्कीले भेटमा चुनावी अभियानबारे नेता शाहले जानकारी लिएको बताइन् । उनले भेटमा चुनावी रणनीतिबारे समेत छलफल भएको उल्लेख गरिन् । उनकाअनुसार नेता शाहले उम्मेदवारहरुलाई आफूहरुको स्पष्ट बहुमतको सरकार बन्ने भन्दै जनता समस्या बुझ्ने कार्यमा गम्भीरतापूर्वक लाग्न आग्रह गरेका छन् ।
उनले भने, ‘उहाँले हामीहरुसँग अपडेट लिनु भएको हो । अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो । उहाँले स्पष्ट रुपमा भन्नु भएको छ–सरकार हाम्रो बन्दैछ । ढुक्क भएर जनताको घर घरमा जानुस्, समस्या सुन्नुस् । उहाँहरुको समस्या समाधान गर्छौं, हाम्रो स्पष्ट बहुमतको सरकार बन्दैछ ।’ पार्टीकी नेतृ रञ्जु दर्शनाले चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन् ।
उनले भनिन्, ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नु भयो । अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो ।’ रास्वपा नेता तथा काठमाडौं–३ का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता साहसँग भेट भएको बताए ।
उनले भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गरे । उनले आफूहरु सौहाद्र्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गइरहेको उल्लेख गर्दै नागरिकले परिवर्तनलाई आत्सात गरेको पाइएको पनि बताए । उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर ३ मा के भइरहेको छ भन्नेबारे रिपोर्टिङको लागि म आएको थिएँ । हामी सौहाद्र्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गएका छौँ । नागरिकले देशमा विकसित राजनीतिक परिवर्तनलाई आत्मसात गरेको देखिन्छ । हामीलाई बहुमतले अनुमोदन गर्नु हुन्छ भन्ने विश्वास छ ।’ अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेता शाहले झापा–५ बाट उम्मेदवारी दिएका छन् ।
