शक्ति बस्नेतदेखि हर्क साम्पाङ र हिक्मत कार्कीसम्मलाई आयोगको स्पष्टीकरण
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न दलका उम्मेदवार, सार्वजनिक पदाधिकारी तथा संघ–संस्थालाई स्पष्टीकरण सोध्ने क्रम तीव्र बनाएको छ । यही क्रममा जाजरकोटबाट उम्मेदवार बनेका नेकपा नेता शक्ति बस्नेतसहित हर्क साम्पाङ, हिक्मत कार्की लगायतलाई आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगका अनुसार जाजरकोटका उम्मेदवार शक्ति बस्नेतले उम्मेदवारी दर्ताका क्रममा बाजागाजा बजाउने समूहलाई पैसा दिएको देखिने भिडिओ सार्वजनिक भएपछि आयोगमा उजुरी परेको थियो। छानबिनका क्रममा बाजा बजाइरहेका व्यक्तिहरूको टाउकोमा पाँच सय रुपैयाँका नोट सिउँरिएको दृश्य देखिएकाले उक्त गतिविधि निर्वाचन आचारसंहिता विपरीत भएको निष्कर्षसहित आयोगले बस्नेतसँग लिखित स्पष्टीकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र जाजरकोट निर्वाचन कार्यालय वा आयोगमा स्वयं वा प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि निर्वाचनमा बालबालिकाको प्रयोग गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ । आयोगका अनुसार निर्वाचन अभियानमा बालबालिकाको प्रयोग आचारसंहिताले निषेध गरेको विषय हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीमाथि पनि आयोगको ध्यान गएको छ । झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ताका क्रममा कार्की सरकारी गाडी प्रयोग गरेर सहभागी भएको उजुरीपछि आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन प्रसारप्रसारमा सार्वजनिक पदाधिकारीले सरकारी स्रोत–साधन प्रयोग गर्न नपाउने व्यवस्था आचारसंहितामा स्पष्ट गरिएको छ ।
आयोगले राप्रपाबाट काठमाडौं–४ का उम्मेदवार सुरेन्द्र भण्डारीलाई द्वेषपूर्ण तथा यौनिक तथा अल्पसंख्यक समुदायविरुद्ध घृणित अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उम्मेदवार जगदीश खरेललाई दलको झण्डाको प्रयोग र मनोनयन दर्ताका क्रममा २५ जनाभन्दा बढी व्यक्तिको सहभागिता गराएको विषयमा स्पष्टीकरण सोधिएको थियो। खरेलले भने आयोगमा जवाफ पेस गर्दै आगामी दिनमा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
यसका अतिरिक्त निर्वाचनसँग सम्बन्धित गतिविधिमा संलग्न भएको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी प्राप्त भएमा सुरुमा तीन दिने स्पष्टीकरण सोध्ने, दोस्रो पटक २४ घण्टे समय दिने र त्यसपछि पनि उल्लंघन दोहोरिए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । आयोगसँग जरिवानादेखि उम्मेदवारी खारेजसम्मको अधिकार रहेको उनले स्पष्ट पारे । आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै उम्मेदवार, दल र सरोकारवालालाई आचारसंहिता कडाइका साथ पालना गर्न पुनः आग्रह गरेको छ ।
