खोटाङको राजनीतिक सरगर्मी : नयाँ अनुहारहरुको तीव्र प्रतिष्पर्धा
काठमाडौं । विगतका उम्मेदवारलाई बिदा गरेको खोटाङको चुनावी राजनीतिक सरगर्मी बढ्दै गएको छ। यो पटक राजनीतिक दलहरुले गएका निर्वाचनमा प्रतिष्पर्धा गरेका नेताहरूलाई चुनावी प्रतिष्पर्धाको मैदानबाट बाहिर राखेका छन्। जनाधारका हिसाबले बलियो मानिएको एमालेले पछिल्ला पाँचमध्ये तीन निर्वाचनमा पराजय भोगिसकेको छ, जसले यस पटकको चुनावलाई अझै चासोको विषय बनाएको छ। विगतमा पाँच पटक उम्मेदवारी दिएर दुई पटक प्रतिनिधित्व गरेका पूर्व सचेतक विशाल भट्टराई यसपटक प्रतिस्पर्धामा छैनन्। भट्टराईको सट्टा एमालेले जिल्ला अध्यक्ष देवविक्रम राईलाई उम्मेदवार बनाएको छ। स्थानीय नेताहरूका अनुसार पार्टीको जनाधार र पहिचानवादी मुद्दामा भट्टराई कमजोर देखिएकाले राईलाई अगाडि सारिएको हो।
यता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि अनुभवी नेता हरि रोकालाई उम्मेदवार बनाएको छ। उनी २०५६ सालमै मालेको तर्फबाट ताराको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए। २६ वर्षपछि फेरि त्यही चिह्न लिएर चुनाव लड्ने अवसर पाएका रोकाले २०६४ सालमा माओवादी कोटाबाट मनोनीत सभासद्का रूपमा राष्ट्रिय राजनीतिमा प्रवेश गरेका थिए। केही समय राजनीतिबाट टाढा बसेका रोकालाई यसपटक पुनः नेकपाले उम्मेदवार बनाएको हो। नेपाली कांग्रेसले पनि यसपटक खोटाङमा नयाँ नेतृत्वलाई मौका दिएको छ।
लगातार नेतृत्व परिवर्तन गरे पनि अपेक्षाकृत सफल परिणाम नआएको कांग्रेसले १४ औँ महाधिवेशनमा जिल्ला सभापति उम्मेदवार रहेका विरकाजी राईलाई टिकट दिएको छ। पार्टीभित्र सक्रिय भूमिका खेल्दै आएका राई महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सचिव समेत रहिसकेका छन्। कांग्रेसले पुराना अनुहारलाई आराम दिएर नयाँ जोशसहित परिणाम निकाल्ने लक्ष्य राखेको देखिन्छ। खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हर्क साम्पाङको श्रम संस्कृति पार्टीको प्रभाव पनि उल्लेखनीय देखिन्छ। युवामुखी एजेण्डासहित देशभर लहर बनाइरहेको रास्वपाले रुद्र गिरीलाई उम्मेदवार बनाएको छ भने श्रम संस्कृतिबाट आरेन राई प्रतिस्पर्धामा छन्। यी दुवै दलको उदयले परम्परागत मत बाँडफाँडमा ठूलो प्रभाव पार्न सक्ने विश्लेषकहरूको बुझाइ छ।
यसैगरी, उज्यालो पार्टीसँग सहकार्य गरेको राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेस राईले उम्मेदवारी दिएका छन्। अन्य दल र स्वतन्त्र गरी खोटाङमा कुल १५ जनाले यसपटक प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। जसपाको तर्फबाट राकेश राई, माओवादी केन्द्रबाट चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जसपा नेपालबाट सुनिल चाम्लिङ, राप्रपाबाट दिपक तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपाबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टीका केशरमान चाम्लिङ पनि प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवारका रूपमा डा. राजकुमार राई र तिलकचन्द्र राई उभिएका छन्।
खोटाङको चुनावी इतिहास हेर्दा २०७९ मा कांग्रेस–माओवादी गठबन्धनले चुनाव जितेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार रामकुमार राईले एमाले उम्मेदवार भट्टराईलाई पराजित गरे। २०७४ मा भने माओवादीले एमालेका विशाल भट्टराईलाई सहयोग गरेपछि उनी विजयी बनेका थिए। २०७० को दोस्रो संविधानसभामा पाँचकर्ण राई र विशाल भट्टराई दुवै निर्वाचित भए। २०६४ मा दुवै क्षेत्रमा माओवादीको दबदबा थियो। कांग्रेसले २०५६ पछि खोटाङमा जित हात पारेको छैन, जसले यसपटकको प्रतिस्पर्धालाई झनै रोमाञ्चक बनाइदिएको छ। खोटाङमा यो पटक पुरानो राजनीतिक शक्ति, नयाँ अनुहार, वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारबीच बहुआयामिक प्रतिस्पर्धा देखिन्छ। विभिन्न जातीय र भौगोलिक जनसमूहको मतप्रवाह मिलेर अन्तिम परिणाम निर्णायक बन्ने सम्भावना उच्च छ।
