`

बालेन, महेश, हर्क, निकोलसलाई आयोगले सोध्यो स्पष्टीकरण

Nepal One HD १३ माघ २०८२ १३:०९
निर्वाचन विषेश

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारसहित पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । अभिव्यक्ति, प्रचार शैली र चुनाव चिह्नको प्रयोगसँग सम्बन्धित उजुरीका आधारमा आयोगले उनीहरूलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

स्पष्टीकरण सोधिनेमा झापा–५ का उम्मेदवार रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), भक्तपुर–२ का नेकपा एमाले सचिव महेश बस्नेत, सुनसरी–१ का श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र रूपन्देही–२ का स्वतन्त्र उम्मेदवार निकोलस (कमल) भुसाल रहेका छन् । साथै भक्तपुर–२ की उम्मेदवार जानुका पाठकलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगका अनुसार बालेन शाहमाथि सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका कारण उजुरी परेको हो । उजुरीमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू प्रमाण वा अदालतको निर्णय बिनै लगाइएका गम्भीर, तथ्यहीन र मानहानिकारक आरोप भएको दाबी गरिएको छ । केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भमा बालेनको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उजुरीमा उल्लेख छ ।

यस्तै, एमाले सचिव महेश बस्नेतलाई पनि अभिव्यक्तिकै विषयमा स्पष्टीकरण सोधिएको छ । बालेन शाहले जनकपुरमा दिएको भाषणमा प्रयोग गरेको ‘छौरा’ शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको र त्यस क्रममा मधेसी समुदायलाई अपमानित हुने घृणात्मक अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ । हर्क साम्पाङमाथि भने चुनाव प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको र टिसर्ट लगाउन लगाएको विषयमा आचारसंहिता उल्लंघनको उजुरी परेको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार सोमबार नै उनलाई स्पष्टीकरणको पत्र पठाइएको हो ।

त्यसैगरी निकोलस भुसालमाथि दुईवटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको आरोप छ । उनले ‘जेनजी आन्दोलनको आइकोनिक जुत्ता’ लाई चुनाव चिह्नका रूपमा प्रचार गरेको पाइएपछि आयोगले चुनाव चिह्नसम्बन्धी प्रावधान उल्लंघन भएको भन्दै स्पष्टीकरण मागेको हो । जानुका पाठकलाई उम्मेदवारमाथि हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गर्दै घृणाजन्य टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।

आयोगले उम्मेदवारहरूसँगै स्वास्थ्य स्वयंसेवक संघले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको र शिक्षक सरुवासम्बन्धी एक घटनामा समेत स्पष्टीकरण सोधेको जनाएको छ । यसरी आयोगले पछिल्लो चरणमा कुल ७ वटा स्पष्टीकरण जारी गरेको हो । निर्वाचन आयोगले सबै पक्षलाई निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्न पुनः सचेत गराउँदै तोकिएको समयभित्र जवाफ नआए कानुनी कारबाही अघि बढ्न सक्ने संकेत दिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *