एमालेको झण्डा जलाएको आरोपमा रास्वपा समर्थित थप दुई पक्राउ
काठमाडौं । नेकपा एमालेको झण्डा जलाएको आरोपमा रास्वपा समर्थित थप दुुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई पक्राउ गरिएको हो ।
प्रहरीले शुक्रबार तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो । झण्डा झलाउन संलग्न अन्यको खोजी पनि प्रहरीले तीब्र पारेको छ ।
बिहीबार दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह जाने खबर पाएपछि तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूले एमालेको झण्डा जलाएका थिए ।
निर्वाचन आचारसंहिताविपरीत एमालेको झण्डा जलाएपछि देशभरबाट रास्वपा कार्यकर्ताहरूको अराजक क्रियाकलापको विरोध भइरहेको छ ।
पछिल्ला दिनमा रास्वपा सभापति रवि लामिछाने विपक्षीहरूलाई सिध्याउने अभिव्यक्ति दिँदै चुनावी सभाहरूमा सक्रिय रहँदा रास्वपा कार्यकर्तादेखि समर्थकहरू अराजक र उच्छृङ्खल गतिविधि गरिरहेका छन् ।
अन्य दलको चुनावी सभा बिथोल्न खोज्नेदेखि उम्मेदवारहरूमाथि तथानाम गाली बर्साउने गरेका छन् ।
