बेलायती राजसंस्थामा तरंग: एन्ड्रयुलाई उत्तराधिकारबाट अलग गर्न कानुन ल्याइँदै
काठमाडौं । बेलायतमा एन्ड्रयु माउन्टबेटन-विन्डसरलाई राजगद्दीको उत्तराधिकारी सूचीबाट हटाउने विषय फेरि केन्द्रमा आएको छ ।
बाल यौन दुराचार प्रकरणमा कुख्यात अमेरिकी धनाढ्य जेफ्री एप्टिनसँगको सम्बन्धका कारण लामो समयदेखि विवादमा तानिएका एन्ड्रयुलाई अब औपचारिक रूपमा उत्तराधिकारको लाइनबाट हटाउने तयारी तीव्र बनेको हो ।
एप्टिनविरुद्ध नाबालिग किशोरीहरूको यौन शोषणसम्बन्धी गम्भीर आरोप सार्वजनिक भएपछि उनीसँगको एन्ड्रयुको निकट सम्बन्धले बेलायती राजसंस्थामाथि नै प्रश्न उठाएको थियो ।
विशेषगरी एन्ड्रयुले एप्टिनसँगको सम्बन्ध स्वीकार्दै सार्वजनिक रूपमा सफाइ दिने प्रयास गरे पनि आलोचना झन् चर्किएको थियो ।
विवाद उत्कर्षमा पुगेपछि एन्ड्रयुले शाही जिम्मेवारीहरूबाट हात झिकेका थिए र पछि उनका ‘प्रिन्स’ लगायतका शाही उपाधिहरू पनि खोसिएका थिए ।
तर उपाधि गुमे पनि उनी उत्तराधिकारीको सूचीमा भने कायमै थिए । अहिले भने सोही विवादलाई आधार बनाएर उनलाई राजगद्दीको सम्भावित दायराबाटै हटाउने कोणमा कानुनी तयारी भइरहेको स्रोतहरूले जनाएका छन् ।
राजा चार्ल्स तृतीयका भाइ एन्ड्रयु हाल उत्तराधिकारी सूचीमा आठौँ स्थानमा छन् । यद्यपि, राजसंस्थाको विश्वसनीयता जोगाउन विवादित व्यक्तिलाई उत्तराधिकारबाट अलग गर्नु आवश्यक भएको तर्क सत्तारूढ र विपक्षी दुवै वृत्तबाट उठिरहेको छ ।
एन्ड्रयुलाई सूचीबाट हटाउन संसदबाट विशेष कानुन पारित गर्नुपर्ने हुन्छ । त्यस्तो निर्णयका लागि बेलायती संसदको स्वीकृतिसँगै राजा राष्ट्रप्रमुख रहेका अन्य कमनवेल्थ राष्ट्रहरूको सहमति पनि आवश्यक पर्ने प्रावधान छ ।
