`

बमसहित पक्राउ परेका नेकपा उम्मेदवार चाैधरीविरुद्ध दुई कसुरमा अनुसन्धान

Nepal One HD २० फागुन २०८२ ११:४७
अपराध

काठमाडौं । बमसहित पक्राउ परेका पर्सा क्षेत्र नम्बर-२ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरीविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता गरिने भएकाे छ । उनी आज बिहानै बमसहित पक्राउ परिसकेका छन् ।

उनीविरुद्ध प्रहरीले विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरमा अनुसन्धान थालेकाे छ ।

निर्वाचन ऐन २०७३ र मुलुकी फौजदारी संहिताअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया प्रहरीले अघि बढाएको छ । साथै, उनी सवार गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बा १० च १२५० नम्बरको गाडीमा सवार रहेका चौधरीको गाडीमा शंकास्पद वस्तु फेला परेपछि जाँच गर्दा ‘होक्सी बम’ भेटिएको थियो ।

पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले फेला परेको बम नेपाली सेनाको टोलीमार्फत डिस्पोज गरिसकिएको बताए ।

चौधरीसँगै बारा प्रसौनी गाउँपालिकाका २६ वर्षीय सहाव आलम अन्सारी, धनुषाका ३० वर्षीय सुरज कार्की र पर्साका ६८ वर्षीय सत्यनारायण थारु पनि पक्राउ परेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *