गृहमन्त्री सुधनले पत्रकारहरूलाई भने– कसैको चरित्रहत्या गरेर समाचार नलेख्नुहोस्
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको चरित्रहत्या गरेर समाचार नलेख्न पत्रकारहलाई आग्रह गरेका छन् ।
गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि उनले आफूमाथि विगतमा विभिन्न आरोप लागेको प्रसङ्ग जोड्दै चरित्र हत्या गर्नेगरी समाचार नलेख्न आग्रह गरेका हुन् ।
कसैको व्यक्तिगत जीवन हुने र त्यसप्रति सम्मान गर्न पनि उनले सुझाए ।
‘न्यूजहरू बनाउँदाखेरी कसैको चरित्रहत्या गर्ने र टीआरपीका लागि लेख्ने नगर्नुहोला, म एकदमै मनैदेखि आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘हजुरहरूको हातमा धेरै कुरा रहेछ, मैले पहिले पनि भनेको थिएँ, अहिले पनि भन्छु, तपाईंहरूले रेस्पोन्सीबल भएर न्यूजहरू बनाइदिनुभयो भने हाम्रो देशको विकास हुन धेरी समय लाग्दैन । मलाई विभिन्न आरोप लाग्ने गरेको छ ।’
गृहमन्त्री सुधनलाई जेन–जी विद्रोहलगत्तै नेपाली नागरिक नभएको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए ।
उनको नागरिकता छानबिनको माग पनि उठेको थियो । जेन–जी विद्रोह सफल भएपछि ‘हाइज्याक’ गरेको आरोप लागेको थियो ।
यसबाहेक उनी इन्डो–अमेरिकन कित्तामा रहेको र निर्वासित तिब्बती धर्म गुरु दलाई लामासँग निकट रहेको आरोप लागेको थियो ।
यसप्रति संकेत गर्दै उनले पत्रकारहरूलाई कसैको चरित्रहत्या गर्नेगरी समाचार नलेख्न आग्रह गरेका हुन् ।
